काठमाडौं । दुई देशको सीमा हेर्ने विज्ञ समूहको ११ औं चरणको बैठक चीनको कुन्मिङ् शहरमा आयोजना भएको हो। मंगलबार देखि शुक्रबारसम्म चिनियाँ र भुटानी सरकारी अधिकारीबीच वार्ता भएको दुवै पक्षले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ। बैठकमा चिनियाँ पक्षको नेतृत्व विदेश मन्त्रालयका सीमा तथा समुद्री मामिला हेर्ने डिरेक्टर जेनरल होङ् लियाङ् र भुटानी पक्षको नेतृत्व अन्तर्राष्ट्रिय सीमा संबन्धि मामिला हेर्ने सचिव दासो लेथो तोब्धेन टाङ्वीले गरेका थिए।
दुई देशका अधिकारीबीच सीमा वार्ताका संबन्धमा यसअघि हस्ताक्षरित थ्रि स्टेप रोडम्याप तिन चरणको मार्गचित्र कार्यान्वयन गर्ने संबन्धि समझदारीपत्रलाई द्रुतरुपमा कार्यान्वयनमा लैजानका लागि सकारात्मक सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ।
गत असोज २०७८ मा भुटान र चीनका विदेशमन्त्रीबीच सीमा विवाद हल गर्न उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यो सम्झौता दोक्लम त्रिदेशीय क्षेत्रमा भारत र चीनका सेनाबीच ७३ दिनसम्म भएको गतिरोधको ४ वर्षपछि भएको थियो। २०७४ मा दोक्लममा भूटानले दावी गरिरहेको भूभागमा चीनले सडक निर्माण सुरु गरेपछि चीन र भुटानबीच तनाव भएको थियो। त्यसमा भारतले भुटानलाई साथ दिएको थियो। यसरी चीन र भुटानबीचको सीमा तनाव भारत र चीनबीचनको समस्यामा परिणत भएको थियो। भूटान र चीन सन् १९८४ देखि सीमा सम्बन्धी वार्तामा संलग्न छन्। भारतले पनि यसैगरी चीनसँग सीमा वार्ता गरिरहेको छ।
भूटान र चीन ४ सय किलोमिटर लामो साझा सीमाद्वारा जोडिएका छन्। दुबै देशले सीमा विवाद समाधानका लागि १९८४ देखि हालसम्म गरी २४ चरणमा वार्ता गरेका छन्। भारतले चीन र भूटानबीचको पछिल्लो सम्झौताका विषयमा प्रतिक्रिया जनाएको छैन। तर, चीनसँग पछिल्लो डेढ वर्षयतादेखि चलिरहेको तनावका सन्दर्भमा यो घटनाक्रमलाई नजरअन्दाज गर्न सकिने स्थिति पनि छैन।
चीन र भुटानका अधिकारीबीच विज्ञ समूहको बैठक चाँडो चाँडो बस्ने तथा कुटनीतिक च्यानलबाट निरन्तर सम्पर्कमा रहने सहमति पनि भएको छ। चीन र भुटानबीच २५ औं चरणको सीमा वार्ता दुवै पक्षको अनुकुलता अनुशार सकेसम्म चाँडो आयोजना गर्ने सहमति पनि भएको छ।

