काठमाडौं । नयाँ सरकार गठन सँगै शेयर बजार बढ्न थालेपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । गएको पुस सात गते नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १८६७.२१ अंकमा थियो। बुधवार सूचक बढेर २१२५.८४ अंकमा उक्लिएको छ। गएको १३ दिनमै सूचकले २५८.६३ अंकको फड्को मार्यो।
छोटो समयमै सूचक बढेपछि लगानीकर्ताको चासो बढ्न थालेको छ। यस अघि मौन रहेका लगानीकर्ता समेत सलबलाउन थालेको बताइएको छ।
शेयर बजारले पुस मसान्तलाई समेत अटेर गरेर अघि बढ्न थालेपछि शेयर बजार थप बढ्ने अनुमान गर्न थालिएको छ।
शेयर बजार बढ्दै गएपछि लगानीकर्ताहरूमा थप कन्फिडेन्स बढ्न थालेको छ। उनीहरूले शेयर बजारलाई नै टेकेर सरकारले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने रणनीति अख्तियार गरेको विश्लेषण समेत हुन थालेको बताइएको छ।
वर्किङ क्यापिटलको समस्या थोरै सम्बोधन भए सँगै ब्याजदर तल आउने कुरालाई अलि बढी नै लगानीकर्ताले विश्वास गरिरहेका छन्। उनीहरूको विश्वासलाई बजारको कारोबार र डिरेक्सनले समेत प्रमाणित गर्दै लगिरहेको छ। किनकि कुनै पनि कुरा हुँदै छ भन्ने जनाउ शेयर बजारले पहिले नै दिने गर्छ। त्यसलाई आधार मानेर हेर्दा समेत शेयर बजारले त्यस्तै सङ्केत गरिरहेको छ। बुधवार बढेको बजारलाई त्यही रुपमा हेर्नु पर्ने हुन्छ।
पछिल्लो समय थप एक कदम अघि बढेर सरकार नै शेयर बजार बढाउन तर्फ लागिरहेको तर्क गर्न थालिएको छ। अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि शेयर बजारलाई ट्र्याकमा ल्याउन बोलेर सम्बोधन गरे। त्यसपछि आफूले बोलेका कुराहरूलाई थोरै भएपनि व्यवहारमा उतार्ने प्रयास गर्दै छन्।
शेयर बजार २४ सय देखि २५ सयको लाइनमा गयो भने बैकिङ क्षेत्रमा देखिएको समस्या यसैले समाधान गरिदिन्छ भन्ने लाइनमा उनी देखिएका छन्। किनकि धेरै मानिसहरूको शेयरको मूल्य घटेर बसेको थियो। बेचेर ऋण तिर्दा थप घाटा लाग्ने स्थिति हुन्थ्यो। व्यवसायी होस् वा सर्वसाधारण घाटामा पर्दा कसैलाई पनि फाइदा हुँदैन। किनकि घाटामा कर आउँदैन। सरकार घाटामा हुने भयो। घाटा हुँदा ऋणीले ऋण तिर्न परै जाओस् व्याज तिर्न समेत सक्दैन। त्यसले बैकको खराब ऋण बढ्ने हुन्छ। सर्वसाधारणलाई घाटा लाग्दा उसको खर्च गर्ने क्षमता घट्छ। त्यसले उपभोग घटाउँछ। त्यसले बजारलाई प्रेसर पार्छ। त्यसले व्यवसायीको व्यापारमा असर गर्छ। इकोनमी चलायमान हुन सक्दैन।
तर शेयर बजार स्थीर वा बढेर २५ सयको लाइनमा गयो भने त्यसले थोरै भएपनि राहत दिन्छ। त्यसले अर्थतन्त्रलाई थप तल जान बाट रोक्छ। सम्पत्ति भन्ने चिज हेपिनेस इन्डेक्स पनि हो। शेयर बजार बढ्दै जाँदा मानिसमा हेपिनेस पनि बढ्दै गइरहेको छ।
शेयर बजार सुधारबाटै सरकारले अन्य अर्थतन्त्र चलायमान बनाउने रणनीतिमा काम गर्न थालेको अनुमानकै आधारमा शेयर बजार बढ्न थालेको छ।

