काठमाडौं । प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तीन चिरामा विभाजित भएपछि बैठक बस्न सकस हुने गरेको छ । अखिल क्रान्तिकारी अध्यक्षमा पञ्चा सिंह चयन भएपछि संगठन तीन चिरामा विभाजित भएको हो ।
अध्यक्षमा सिंह सर्वसम्मत चयन भएपछि पदाधिकारी, केन्द्रीय समिति बैठक एक पटकमात्रै बसेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । काठमाडौंको कीर्तिपुरमा राखिएको बैठकमा सबै पदाधिकारी उपस्थित नहुने र विवाद हुने भएपछि प्रधानमन्त्रीबाटै कार्यक्रम रद्द गरिएको छ ।
प्रधानमन्त्री आउने भएपछि सुरक्षाकर्मी समेत कार्यक्रम आयोजनास्थलमा पुगिसकेका थिए तर अचानक प्रधानमन्त्री आउने कार्यक्रम रद्द भएपछि सुरक्षाकर्मी फर्किएको स्रोतले भन्यो ।
अखिल क्रान्तिकारीको अध्यक्षबाट रञ्जित तामाङ बिदा भएपछि २२ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्ने घोषणा भयो । अध्यक्ष तामाङसहित सिङ्गो पदाधिकारी यसअघि चुनावबाटै चयन भएकाले २२ औं राष्ट्रिय सम्मेलनबाट समेत चुनावबाटै नेतृत्व चयन हुनुपर्ने दबाब दिएको थियो । संगठनको अध्यक्षमा दाबेदारको रुपमा सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तिलकराज भण्डारी, दीपक गौतम लगायत देखिएका थिए ।
पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत गर्न भन्दै विद्यार्थी नेताहरुलाई दबाब दिए । अन्तिममा सर्वसम्मत अध्यक्ष चयन हुन नसकेपछि प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष बनाए । अध्यक्षका अरु दाबेदार विद्यार्थी नेताहरुलाई पार्टी केन्द्रीय समितिमा राख्ने बचन प्रचण्डले दिए । अन्त्यमा प्रचण्डले आफ्नो बचन पूरा गरेर पार्टी केन्द्रीय समितिमा राखेर पुरस्कृत समेत गरे ।
२०७८ साल असोज १७ गते अध्यक्षमा सिंहलाई चयन गरियो । अरु पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि ६१ जना पदाधिकारी बनाइयो । पदाधिकारी र केन्द्रीय समितिमा असन्तुष्ट जनाउँदै पवन कार्कीले विरोध जनाए । कार्कीको विरोधलाई सम्बोधन गर्ने भन्दा दबाउन थालेपछि उनले देशैभर समानन्तर कमिटी बनाए । अहिले सिंह र कार्की नेतृत्वमा देशैभर अखिल क्रान्तिकारीको समानान्तर कमिटी चलिरहेको छ ।
पछिल्लो समय अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट लिने सम्बन्धनका विषयमा आर्थिक लेनदेलनमा बार्गेनिङ गरेको भन्दै सात जना उपाध्यक्षले विरोध जनाए । अब सिंहले राजीनामा दिएर विशेष राष्ट्रिय सम्मेलन गर्नुपर्ने सात उपाध्यक्षको माग छ । यसरी माग गर्नेमा मिलन एमसी, इन्द्र भुसाल, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा अच्युत भट्ट र गजेन्द्र देव छन् ।
अध्यक्ष पञ्चा सिंहकै नेतृत्वको उपाध्यक्ष भए पनि सात उपाध्यक्षले असहयोग गर्ने गरेका छन् । सिंहलाई अध्यक्षबाट बर्खास्त गरेर सात उपाध्यक्षले राष्ट्रिय सम्मेलनतिर लग्न खोजेका छन् । बुधबारको अखिल क्रान्तिकारीको पदाधिकारी बैठकमा सात उपाध्यक्ष अनुपस्थित हुने र थप विवाद हुने भएपछि प्रचण्डले बैठकमा आउन अस्वीकार गरेको स्रोत बताउँछ ।

