सत्तासाझेदार दलहरूले आगामी पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। सत्ता साझेदार दलहरु वीचमा साझा कार्यक्रम अबको पाँच दिन भित्र ल्याउने सहमति भएको छ ।
सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए। उनले बैठकमा मन्त्रिमण्डल विस्तारबारे पनि छलफल भएको बताए। उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारबारे पनि छलफल भएको जानकारी दिए। साथै भावि दिनमा कसरी जाने भन्ने कुराको पनि छलफल र बहस भएको कुरा जानकारी दिए ।
‘सत्तारूढ गठबन्धनले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ। हरेक राजनीतिक दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । उनले भने यो सत्तासाझेदार दलहरूमा संयोजकका रूपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो। मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भयो। मन्त्रिमण्डल विस्तार गर्दा योग्यताको आधारमा विस्तार गर्ने भन्ने विषयमा छलफल भयो।’
गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाउन लागिएको बताए। न्युनतम साझा कार्यक्रमले सत्तारुढ दललाइ अझ नजिकता निम्ताउने उनले बताए ।

