समाजमा मौलाएको भ्रष्टाचार, कुशासन, बेथिति, परिवारवाद, नातावादबाट निराश भएका मतदाताले ठूला दललाई दिएको चेतावनी हो । यो निर्वाचनले यी दललाई एकपटक फेरि सुध्रने मौका दिएका छन् । आगामी संसद्ले स्थिर सरकार गठन गरेन, भ्रष्टाचार र बेथितिको नियन्त्रण गरेन, जनतालाई थप निराश बनायो भने सफ्ट विद्रोह मात्र होइन, सडकबाट कडा विद्रोह गर्ने दिन आउन सक्छ । यसको निर्धारण संसद्मा पुगेका जनप्रतिनिधिहरू र राजनीतिक दलका नेताहरूको आगामी दिनको भूमिकाले निर्धारण गर्नेछ ।
निर्वाचनमा जितहार एक नियमित स्वाभाविक प्रक्रिया हो । प्रजातान्त्रिक मूल्य–मान्यता र संविधानबमोजिम आवधिक निर्वाचन समयमै हुनुपथ्र्यो, शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो, यो नै अहिलेका लागि ठूलो राजनीतिक उपलब्धि हो । नयाँ संसद्को गठन हुँदै छ । कुनै एक दलको बहुमत आउनेछैन । सरकार गठन त्यति सहज हुनेछैन । यो संसद्बाट पनि धेरै सुधारको आशा नराख्दा नै हुन्छ । निर्वाचनबाट पुराना ठूला दल, नयाँ पार्टी र स्वतन्त्रसमेतबाट नयाँ युवाहरूको उल्लेख्य उपस्थितिले संसद्लाई रोचक बनाउनेछ, र केही आशाका किरण पनि देख्न सकिन्छ । सांसदले सरकारलाई प्रभावकारी रूपमा खबरदारी गरून् ।
संसद्लाई संसद्जस्तै बनाऊन् । बाँकी कुरा त क्रमिक रूपमा विकसित हुँदै जाने राजनीतिक घटनाक्रम र नेपाली राजनीतिमाथि सूक्ष्म रूपमा खेल्दै आएको मित्रराष्ट्र एवं विदेशी शक्तिले खेल्ने भूमिका, देशकै राजनीतिक नेतृत्वको साहस र विवेकमाथि भर पर्नेछ ।

