काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंसिर ४ गतेसम्म बागमती करिडोरका घरटहरा भत्काउन जारी गरेको उर्दीको प्रतिवाद गर्दै आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले विना विकल्प सुकुम्बासी बस्ती हटाउन नहुने बताएका छन् । समितिले बागमती करिडोर आसपासका सुकुमबासी बस्ती १० दिनभित्र खाली गर्न निर्देशन दिएपछि उम्मेदवार सिंहको यस्तो भनाइ आएको हो । चुनावी प्रचारप्रसारका क्रममा उनी आइतबार बिहान थापाथलीस्थित सुकुम्बासी बस्ती पुगेका थिए ।
‘बसोवासलाई उठाउने काममा सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुर्पयो। होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने, त्यस्तो गर्न मिल्दैन। समस्याको स्थायी समाधान गर्नका लागि नीति, कार्यक्रम बनाएर गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरूको बसोवासलाई व्यवस्थित रूपमा सरकार र तपाईंहरूलाई पनि सहज हुने गरी गर्नका लागि हामी त्यसमा जोड दिन्छौँ ।’
पूर्वमन्त्रीसमेत रहेका सिंहले सुकुमबासीहरूको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेको र त्यसको प्रतिवेदन आएपछि बस्ती व्यवस्थापनका लागि नीति तथा कार्यक्रम ल्याउने बताए ।
‘अमानवीय दृष्टिकोणबाट कसैले पनि जबर्जस्ती गर्न मिल्दैन। भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरूलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ त्यो कार्यक्रमलाई लागू गराउन म त्यसमा लाग्नेछु,’ उम्मेदवार सिंहले भने ।

