दोधारा चाँदनी – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनः कामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन् ।
चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका हुन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ ।
‘आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र’, उनले भने, ‘भारत नगई खानपीनको जोहो गर्न सकिँदैन ।’ आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लागेका चौधरीले त्यहाँ लामो समयदेखि मजदुरी गर्दै आएका छन् । ‘भारतको बद्रीनाथमा हाम्रो गाउँका २५/३० जना मजदुरी गर्छौँ ।’ उनले भने, ‘चाडपर्व मनाएर फेरि भारत जान लागेका छौँ, भोट हाल्न मन त थियो बाध्यताले दिएन ।’
चौधरीसँगै कामको खोजीमा जान लाग्नुभएका बेलौरी नगरपालिका–५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नुपरेको बताउँछन् । ‘त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ’, उनले भने, ‘अहिले पनि नेताहरू रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन, हेरौँ यसपालि के गर्छन् ।’ नेताहरू अहिले गाउँमा भोट माग्न आउँदा आफूहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेको छ । प्रहरीको तथ्याङ्कअनुसार मङ्गलबार ८९ जना रोजगारीका लागि भारत गएका छन् । बुधबार सो सङ्ख्या बढेर एक सय ८० पुगेको छ । रासस

