वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
आठ वाणिज्य बैंकसहित ३३ वित्तीय कम्पनीको सेयर कारोबार रोक्का
Prabhu Bank AD

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा तीन दर्जनभन्दा बढी वित्तीय कम्पनीको सेयर कारोबार रोक्कामा छ । मर्जर तथा एक्विजिसनका कारण वाणिज्य बैंक, लघुवित्त कम्पनी र बिमा कम्पनीको गरी ३३ कम्पनीको सेयर कारोबार रोक्कामा राखिएको हो ।

जसमा आठ वटा वाणिज्य बैंकसहित नौ वटा लघुवित्त कम्पनी तथा १६ वटा बिमा कम्पनी रहेका छन् । तर, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले भने कात्तिक ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । यी दुई कम्पनीबीच असार २९ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । असोज ११ गतेसम्पन्न यी दुई कम्पनीको विशेष साधारणसभाले एक आपसमा मर्जर हुने प्रस्ताव गरेका थिए ।

त्यस्तै, समाज लघुवित्त र घोडिघोडा लघुवित्तको सेयर कारोबार त ०७७ असोजदेखि नै रोक्कामा छ । यी दुई कम्पनीले आईपीओ नै निष्कासन नगरेका कम्पनीसँग मर्जर गर्ने सम्झौता गरेका छन् । आईपीओ निष्कासन नगरेका कम्पनीहरूसँग मर्जर सम्झौता गरेका समाज र घोडिघोडा लघुवित्तको सेयर कारोबार हालसम्म पनि रोक्कामा रहेको छ ।

समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता ०७७ असोज ५ गते भएको थियो । घोडिघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सम्झौता ०७७ कात्तिक २१ गते भएको थियो । यी कम्पनी एक आपसमा मर्जर भएर २०७८ पुस ३० गते एकीकृत कारोबार भइसकेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीसँग मर्जर हुने निर्णयले लगानीकर्ताको सम्पत्ति दुई वर्षदेखि बन्धकमा छ ।

यसरी बर्सौं वर्ष कम्पनीले सम्पत्ति बन्धक राख्न नहुने लगानीकर्ता बताउँछन् । समाज लघुवित्तका लगानीकर्ता सुमन कटेलले यसरी लगानीकर्ताको सम्पत्ति रोक्का गरेर लगानीकर्ताको अधिकार नै हरण गरिएको बताए । आईपीओ लिस्टिङ हुने बित्तिकै यो कम्पनीको सेयर कारोबार रोक्का भएको भन्दै कतिपयले त यो कम्पनीमा आफ्नो सेयर छ भन्ने कुरा नै बिर्सिसकेको बताएका छन् ।

युनिक नेपाल लघुवित्तले भने प्रतिकित्ता १०० रुपैयाँ अंकित तीन लाख ७९ हजार ४२५ कित्ता थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्कासन गर्न ०७८ चैत १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले एफपीओ निष्कासन गरेर सेयर समायोजन गर्नेछ ।

लामो समयदेखि वित्तीय कम्पनीहरूको सेयर कारोबार रोक्का रहेपछि लगानीकर्ताले पनि यसको लागि आवाज उठाउँदै आएका छन् । लगानीकर्ताले यो विषयलाई नियामक निकायले विशेष ध्यान दिनुपर्ने पनि माग गर्दै आएका थिए । सो मागलाई सम्बोधन गर्दै धितोपत्र बोर्डले पनि मर्जरमा जाने कम्पनीको सेयर कारोबार निश्चित समय अवधिसम्म मात्र रोक्का गर्न पाउने नीति लागु गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले केही दिन अगाडि मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर करोबार रोक्कासम्बन्धी व्यवस्था गर्न धितोपत्र बोर्डलाई जिम्मा दिएको छ । बोर्डले पनि यसका लागि मस्यौदा तयार गरेको छ । उक्त मस्यौदामा मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनसम्म मात्र रोक्का गर्न पाउने व्यवस्था गरिएको छ ।

यो नीतिले लगानीकर्ताको सम्पत्ति धेरै समयसम्म रोक्कामा रहँदैन । यो निर्देशिकाको ड्राफ्ट तयार भएको धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसीले जानकारी दिए । यो निर्देशिका लागु भएकै दिनदेखि लागु हुने भएकाले कम्पनीहरूले पनि सोही अनुसार तयारी गर्नुपर्ने बताइएको छ ।

लामो समयदेखि धितोपत्र दोस्रो बजारमा आफ्नो सेयर रोक्का हुँदा लगानीकर्ता समस्यामा पर्दै आएका थिए । बोर्डले यो निर्देशिका लागु गरेपछि लागनीकर्तालाई सहज हुने अपेक्षा गरिएको छ । नेप्सेमा धेरै वर्षअघि देखि विभिन्न कारणले कम्पनीको सेयर कारोबार रोक्कामा छ । यसले आम लगानीकर्ताको लगानी अधिकारलाई वञ्चित गराएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर