वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
आर्चरीमा गण्डकी प्रदेशले सर्वाधिक सात स्वर्ण जितेर च्याम्पियन बन्यो
Prabhu Bank AD

पोखरा । घरेलु टिम गण्डकी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आर्चरी खेलमा च्याम्पियन बनेको छ । बुधबार पोखरामा सम्पन्न आर्चरीमा गण्डकी प्रदेशले सर्वाधिक सात स्वर्ण, चार रजत र एक कास्यसहित कुल १२ पदक जित्दै च्याम्पियन बनेको हो ।

दोस्रो भएको त्रिभुवन आर्मीले तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित कूल ९ पदक जित्न सफल भयो । अर्को विभागीय टिम एपीएफ क्लबले दुई स्वर्ण, तीन रजत र तीन कास्यसहित आठ पदक जित्दै तेस्रो बन्यो ।

नेपाल पुलिस क्लबले एक स्वर्ण दुई रजत र एक कास्यसहित चार पदक जितेर चौथो बन्दा, प्रदेश १ ले दुई रजत जितेर पाँचौ, सुदुर पश्चिमले एक रजत र दुई कास्यसहित तीन पदक तथा वागमती प्रदेशले एक कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकबिहीन बने ।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै कास्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् ।

रिकर्भ महिलाको व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै कास्य पदक जितिन् । वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् ।

कम्पाउन्ड पुरुषको व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै कास्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् ।

कम्पाउण्ड महिलाको व्यक्तिगततर्फ आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जितिन् । पहिलो वरियताकी एपीएफकी पार्षदा आचार्यले रजत पदकमा चिक्त बुझाइन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै कास्य जितिन् ।

स्टान्डर्ड पुरुषको व्यक्तिगततर्फ दोस्रो वरियताका नेपाल पुलिस क्लबका नगेन्द्र आचार्यले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै कास्य जिते । स्टान्डर्ड महिलातर्फ व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै कास्य पदकमा सिमित् भइन् । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन्

Prabhu Bank AD

सम्बन्धित खवर