जनकपुर । माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले पार्टीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग एउटै मञ्च शेयर गर्न अस्वीकार गर्नुभएको छ ।
जनकपुरमा आज आयोजित मधेस प्रदेशमा कार्यरत केन्द्रीय समिति सदस्यहरुको बैठकमा यादव श्रेष्ठसँग मञ्च शेयर नगर्ने भन्दै मञ्चमा नबसी पछाडिको भागमा बस्नुभएको हो । यादवले अस्वीकार गरेपछि मञ्चमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलवा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिवहरु गणेश साह र देवेन्द्र पोडेल बस्नुभएको थियो ।
मधेश प्रदेशमा माओवादीका तर्फबाट युद्ध लडेका र पूर्वजनमोर्चाका नेताहरुको दुई गुट रहेको छ । भूमिगत कालदेखिका माओवादीको नेतृत्व यादवले गर्दै आउनु भएको छ भने पूर्वजनमोर्चा धारको नेतृत्व गिरिराजमणि पोखरेलले गर्दै आउनु भएको छ ।
यादवले गत ८ चैतमा जनकपुरमै आयोजित माओवादी केन्द्रको मधेश प्रदेशको प्रशिक्षण कार्यक्रम बहिस्कार गर्नुभएको थियो । कार्यक्रममा श्रेष्ठसमेत सहभागी भएको भन्दै यादवले आफू कार्यक्रममा जान अस्वीकार गर्नुभएको थियो ।
गुटकै लडाइँका कारण गत वर्षको २५ मंसिरमा प्रदेश अधिवेशन उद्घाटन भए पनि माओवादीले मधेशमा अहिलेसम्म प्रदेश समिति बनाउन सकेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा २१ पालिका जितेको माओवादी यसपटको स्थानीय तहको चुनावमा ९ पालिकामा सिमित भएको छ ।

