वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
सय दिनमा मुख्यतः सातवटा काम गर्न भ्याएको मेयर बालेनकाे दाबी
Prabhu Bank AD

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरको बागडोर सम्हालेको सय दिन पुगेको छ । सयदिने कार्यकालको मेयर साहले आफैँले आइतबार समीक्षा गरे, त्यो पनि ‘अनअफिसियल्ली ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै सय दिनमा गरेका कामबारे नगरवासीलाई जानकारी गराए । त्यसमा उनले राम्रा र नराम्रा दुवै काम तथा योजना केलाएका छन् ।

उनले आफ्नो कार्यकाल आफैँले भन्दा पनि आमनागरिकले कसरी मूल्यांकन गरे भन्ने महत्वपूर्ण हुने जनाएका छन् । समीक्षामा उनले आफ्ना कमजोरी पनि स्विकारेका छन् । ‘हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ, त्यसले आमनागरिकमा कस्तो सन्देश गयो भन्ने कुराले हामीलाई फरक पार्छ,’ उनले लेखेका छन्, ‘मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ ।’
उनले सय दिनमा मुख्यतः सातवटा काम गर्न भ्याएको उल्लेख गरेका छन् । त्यसमध्ये फुटपाथबाट मकै पोल्ने ठेला हटाएको, अनधिकृत संरचना भत्काउने अभियान  चलाएको लगायत छन् । उनले भनेका छन्, ‘महानगरको बजेटमा इ–स्पोर्टस्का लागि एक करोड रकम छुट्याउँदा र यमबुद्धको सालिक बनाउने योजना बनाउँदा आलोचना खेपेँ ।’ यद्यपि, उनले बजेटमा शिक्षा र स्वास्थ्यलाई पहिलेभन्दा बढी प्राथमिकता दिएको जनाएका छन् । यसबाहेक फोहोर व्यवस्थापनमा ढिलाइ, नर्भिक हस्पिटललगायतको अनधिकृत संरचना हटाउँदा पछि हट्नुपरेको जनाएका छन् ।

तर, मेयर साहले आफू सयदिने दौडमा नरहेको र पाँच वर्षका लागि योजना रहेको जनाएका छन् । ‘हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ, तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ,’ उनले लेखेका छन्, ‘विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई निराश बनाउनेछैनौँ ।’ यसबाहेक उनले महानगरको कार्यपालिकाको बैठक लाइभ गर्ने नयाँ नियमसमेत बसालेका छन् । आफूले गरेका कामको जानकारी आफ्नै फेसबुकमार्फत सार्वजनिक गर्ने गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर