वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आउँदै
Prabhu Bank AD

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता ली चान्सु अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। उच्च राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली भदौ २७ गते काठमाडौँ आउने तय भएको हो।

चिनियाँ कम्युनिस्ट पार्टी पोलिटिकल ब्युरोकोे स्थायी समितिका सदस्य ली राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका नेता हुन्। राष्ट्रिय जनकंग्रेस चीनको संसद् हो, जुन चीनको राष्ट्रिय नीति बनाउने मुख्य थलो हो।

‘चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउने तय भएको छ। भ्रमण कार्यक्रमका लागि चिनियाँ पक्षसँग परामर्श जारी छ,’ उच्च स्रोतले नेपालखबरसँग भन्यो।

सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन्। यद्यपि भ्रमणको औपचारिक घोषणा भइसकेको छैन।

चिनियाँ नेता ली तीनदेखि चार दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनभन्दा एक महिनाअघि प्रभावशाली नेता ली नेपाल आउने भएका हुन्। कम्युनिस्ट पार्टी र चीनको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन अक्टोबरमा हुँदैछ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि नेपाल आउने वरिष्ठतम नेता ली नै हुनेछन्। सी असोज २५, २०७६ मा नेपालको राजकीय भ्रमणमा आएका थिए। उक्त ऐतिहासिक भ्रमणमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने सहमति भएको थियो। २३ वर्षपछि नेपालमा भएको चिनियाँ राष्ट्रपतिको आगमनलाई विश्वले नै विशेष चासोका साथ हेरेको थियो।

लीको भ्रमणका लागि चिनियाँ पक्षसँग भएको परामर्श अनुसार गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। संघीय संसद् सचिवालय र परराष्ट्रले चिनियाँ नेताको स्वागतको तयारी अघि बढाएका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले पनि राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीको नेपाल भ्रमणको तयारी भइरहेको पुष्टि गर्यो।

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीबीच गत चैत २५ गते भएको भिडिओ संवादमा निकट भविष्यमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो। त्यसलगत्तै सापकोटाले लीलाई कूटनीतिक च्यानलबाट औपचारिक निम्तो पठाएका थिए।

भ्रमणमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन्। ली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता हुनेछ। त्यसैगरी नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताले लीसँग भेटवार्ता गर्नेछन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर