वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
१६ वर्षमा ३६ हजार बालबालिका बेपत्ता पारिए
Prabhu Bank AD

काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार १६ वर्षमा ३६ हजार बालबालिका बेपत्ता भए, जसमध्ये ३६ प्रतिशत अर्थात् १३ हजारको अत्तोपत्तो लागेको छैन । बेपत्ता हुनेमा बालिका धेरै छन् । पछिल्लो पाँच वर्षमा १६ हजार सात सय ८५ बालबालिका बेपत्ता भएकामा बालिकाको हिस्सा ७७.९९ प्रतिशत अर्थात् ११ हजार नौ सय १६ छ ।

राष्ट्रिय बालअधिकार परिषद्को पछिल्लो तथ्यांकले प्रत्येक दिन १३ बालबालिका बेपत्ता हुने गरेको देखाएको छ । परिषद्का प्रवक्ता रामबहादुर चन्दले भने, ‘बेपत्ता हुनेमा सबैभन्दा धेरै बालिका छन् । त्यसमा पनि १५ देखि १८ वर्ष उमेर समूहका धेरै छन् । एकै उमेर समूहका बालिका बेपत्ता हुनु आश्चर्यको विषय हो । यसले एउटा गम्भीर प्रश्न के उठाउँछ भने बेपत्ता हुने त्यस उमेर समूहका बालिका कहाँ छन् ? कतै उनीहरूविरुद्ध आपराधिक क्रियाकलाप त भइरहेको छैन ?’

बालबालिका हराउने दर प्रत्येक वर्ष ३० प्रतिशतले वृद्धि भइरहेको पनि तथ्यांकले देखाएको छ । तर, बालबालिका किन हराइरहेका छन् भनेर कुनै अनुसन्धान भएको छैन । अनुभवका आधारमा चन्द यसमा मुख्य चार कारण देख्छन् । ‘बालबालिका किन हराउँछन् भन्ने विषयमा हालसम्म कुनै अनुसन्धान भएको छैन । तर, हाम्रो अनुभवअनुसार मुख्यतः आर्थिक र पारिवारिक कारणले उनीहरू बेपत्ता भएको देखिन्छ । अवसरको खोजीका क्रममा पनि बालबालिका बेपत्ता भएको देखिन्छ । कतिपय घटनामा मानसिक अवस्था असामान्य हुँदा पनि उनीहरू हराएका उदाहरण छन् ।’
२३ हजार दुई सय ५९ बालबालिका मात्रै फेला परेका छन् । १३ हजार तीन सय ५३ को पत्तो छैन । यसमा बालिका धेरै छन् । उनीहरू किन भेटिएनन् ? राष्ट्रिय बाल अधिकार परिषद्को अनुभवमा अधिकांश बालिका घरेलु मजदुरका रूपमा बन्धक हुन सक्छन् । केही मनोरञ्जन क्षेत्र र यौनबजारमा यौनदासी बन्न विवश हुन सक्छन् । कैयौँ बालबालिका यस्तै अवस्थामा फेला पारेको परिषद् प्रवक्ता रामबहादुर चन्दको अनुभव छ ।

‘यति धेरै बालबालिका सम्पर्कभन्दा बाहिर छन् । उनीहरू कहीँ न कहीँ त अवश्य फेला पर्नुपर्ने हो । तर, कहीँ भेटिएका छैनन् । यसैले उनीहरू कि त घरेलु मजदुरका रूपमा बन्धक छन् कि अन्य अनैतिक काममा बलपूर्वक राखिएका छन्,’ उनले भने, ‘हामीकहाँ खुला सीमा छ । कैयौँ बालिका भारतीय सहरमा समेत पुर्‍याइएका हुन सक्छन् ।’

Prabhu Bank AD

सम्बन्धित खवर