काठमाडौं । अन्ततः नेकपा (माओवादी केन्द्र)को महासचिवमा देव गुरुङले बाजी मारेका छन् । पार्टी महाधिवेशन भएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित १८ जना पदाधिकारीको नाम प्रस्ताव गरे । तर प्रस्तावित नाममा दाहालले १ जनामात्रै महिला समावेश गरेका छन् ।
महाधिवेशन सकिएलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा दाहाललाई चयन गरेको थियो । त्यसपछि असारमा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो ।
त्यस्तै शनिबारको स्थायी कमिटी बैठकमा दाहालले गरेको प्रस्तावित नामअनुसार महासचिवमा देव गुरुङ, उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन् ।
९ सदस्यीय सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम शर्मा रहेका छन् । दाहालले कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई प्रस्ताव गरेका छन् ।

