वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
हर्क साम्पाङविरुद्ध एमाले किन हात धोएर लाग्यो ?
Prabhu Bank AD

 

काठमाडौं । वि‍‍.सं. २०१७ देखि वामपन्थीहरूको वर्चस्व रहिआएको धरान, जसलाई एमालेको गढ पनि भनिन्थ्यो। यहाँ विगतका दुई स्थानीय निर्वाचनमा एमालेको साख गुमेको छ। २०७६ को उपनिर्वाचनमा कांग्रेससँग हार्दै मेयर पद गुमाएको एमाले २०७९ को स्थानीय निर्वाचनमा तेस्रो स्थानमा खुम्चिनु मात्र परेन, एउटा साधारण, स्वतन्त्र भुइँमान्छेसँग धेरै मतान्तरले पछि पर्यो। यो लज्जास्पद हारले तिर्मिराएको एमालेले सुरुदेखि नै स्वतन्त्र मेयर हर्क साम्पाङलाई विभिन्न किसिमले नगरपालिका सञ्चालनमा असहयोग गरिहेको छ।

नेकपा एमालेका वडा अध्यक्षहरूले कारण नखुलाई कार्यपालिका बैठक बहिष्कार गरेर धराने जनताको अभिमतलाई अपमान गरेका छन्। जतिसुकै ठूलो समस्याको समाधान छलफलबाटै हुन्छ। तर, छलफलै नगरी, कारणै नभनी बैठक बहिष्कार गर्नुले वडा अध्यक्षहरू जनताका लागि नभई पार्टीका केही नेताको स्वार्थका लागि परिचालित भएको बुझ्न सकिन्छ। यस्तो क्रियाकलापले धरानमा एमालेप्रति वितृष्णा बढ्न गई उसको राजनीतिक भविष्यमै प्रश्न खडा गर्छ।

हालैको बराह सहकारी पीडितहरूको आन्दोलनमा एमालेले आफ्ना कार्यकर्ताहरू घुसाएर मेयर साम्पाङविरुद्ध आन्दोलन चर्काएको र मेयरको कार्यालय तोडफोड गरेको साम्पाङ एवं उनका समर्थकहरूको आरोप छ। आन्दोलनको संयोजक एमाले कार्यकर्ता भएको र उनले चुनावमा मञ्जु भण्डारीका लागि भोट मागेको फोटो मेयर साम्पाङले आफ्नो फेसबुक पेजमा राखेपछि यो विवाद चर्किएको हो।

मञ्जु भण्डारीले आफ्नो नाम दुरुपयोग गरेको आरोप मेयर साम्पाङलाई लगाउँदै उनीविरुद्ध साइबर अपराधमा उजुरी गरेकी छन्। यसै क्रममा भण्डारीको फेसबुक पेजमा धरानका जनजातिलाई लक्ष्य गरी जातीय सद्भाव बिगार्ने खालका स्टाटस बाहिर आएपछि यो विवादले चर्को रूप लिएको छ। र, त्यसैको विरोधमा एमाले वडाध्यक्षहरूले धरान नगर कार्यपालिकाको बैठक कारण नखुलाई बहिष्कार गरेका हुन्।

एमालेजस्तो राष्ट्रिय स्तरको पार्टीले आफ्नै गढमा एक स्वतन्त्र मेयरका पछि हात धोएर लाग्नु उसकै प्रतिष्ठामा प्रश्न हो। देश(विदेशबाट सारा नेपालीले नियालिरहेको हर्कविरुद्ध एउटा कुनामा देखिने चुनावी फोटोको निहुँमा बबन्डर मच्चाउनु मेयर, उपमेयर दुवै पदमा आसीन भइसकेका एमालेका केन्द्रीय सदस्य जस्तो नेतालाई शोभा दिँदैन।

व्यंग्यात्मक रूपमा दिइएको धन्यवादलाई आफ्नो अपमान ठान्नु राजनीतिक अपरिपक्वता हो। वाक स्वतन्त्रता भएको देशमा साधारण र सभ्य भाषामा पार्टीका नेतालाई व्यंग्य गर्दा नगरपालिकाका वडाअध्यक्षहरूले कार्यपालिकाको बैठकै बहिष्कार गर्नु लोकतन्त्रको उपहास हो। यो तरिकाले त भोलि ठूल्ठूला आलोचना र विरोध आउँदा बैठकमा छलफल गर्नुको साटो पहिलेजस्तै टायर बाल्ने, तोडफोड गर्ने, बन्द र हडताल गर्नेजस्तो अराजक गतिविधि हुँदैन भन्न सकिन्न।

जहाँसम्म साइबर अपराधको सवाल छ( मञ्जु भण्डारीको फोटो चुनावी प्रचारप्रसारका क्रममा प्रयोग भएको सार्वजनिक फोटो हो। त्यो पनि अरू कार्यकर्ताको फोटोको साइडमा सानो। फेरि, त्यहाँ गालीगलौज नभई धन्यवाद दिइएको छ भने कसरी अपराध भयो ? एमालेले यसलाई अपराध मान्छ भने एमालेमा विवेकको ठूलो खडेरी परेको छ भन्नु गलत हुँदैन। यस्ता कुरालाई मुद्दा बनाएर गरिने कुनै किसिमको आन्दोलनमा जनताको समर्थन हुँदैन। बरु जनता प्रतिवादमा उत्रिने सम्भावना हुन्छ।
नै बुद्धिमानी हुन्छ।​

इमान्दारिता, निष्ठा र राष्ट्र(प्रेमले भरिएका हर्क साम्पाङलाई मेयर भएयता समर्थकहरूको आडमा अलि धेरै नै अहमता प्रदर्शन गर्ने गरेको आरोप जनमानसमा लाग्ने गरेको छ। हर्कलाई आलोचना सुन्न नसक्ने र विरोध गर्नेहरूलाई आफ्नो पाद र जिउको रौँसँग तुलना गर्ने असभ्य मेयरका रूपमा चित्रण गरिन थालिएको छ। यसकै प्रतिफल उनका आलोचक र विरोधीहरू बढ्ने क्रम जारी छ।

एमाले धरानको मात्र नभई नेपालकै जिम्मेवार राष्ट्रिय पार्टी हो। देशमा थुप्रैपटक शासन गरिसकेको, ठूल्ठूला आन्दोलन नेतृत्व गरिसकेको एमाले यसरी एउटा स्वतन्त्र मान्छेसँग निहुँ खोज्नु हास्यास्पद देखिन्छ।

एमालेका वडाध्यक्षहरूले नगरपालिकाको कार्य सञ्चालन गर्नु नै एमालेका लागि बुद्धिमानी हुन्छ। नगरपालिकाका बैठक पार्टीको झगडा गर्ने र मिलाउने ठाउँ होइन। यो त विशुद्ध सेवाग्राहीलाई सेवा दिने ठाउँ हो।

पार्टीका नेताहरूको व्यक्तिगत लडाइँका कारण नगरपालिकाको काममा बाधा पर्छ भने त्यसको मूल्यांकन जनताले अवश्य गर्नेछन्। यसमा स्वतन्त्रलाई भन्दा पार्टीलाई नै ज्यादा नोक्सान पर्नेछ। ढिला नगरी सबै जना सच्चिएर जनताको काममा ध्यान दिऊँ। नसच्चिए त्यसको मूल्यांकन जनताले आउने मंसिर ४ गते गर्नेछन्।

Prabhu Bank AD

सम्बन्धित खवर