काठमाडौं । लामो समययताको चर्चालाई यथार्थमा बदल्दै नेपालका दुई ठूला वाणिज्य बैंकले मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा गई आगामी पुसभित्रै एकीकृत कारोबार थाल्नेछन् । पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले विशेष छुटको व्यवस्था गरेको छ ।
काठमाडौंको मेरियट होटलमा आज भएको सम्झौतामा मर्जरपछि खडा हुने संस्थाको नाम ‘प्रभु बैंक’ रहने सहमति छ । र, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अशोक शेरचन रहनेछन् । शेरचन अहिले पनि प्रभु बैंकका सीईओ नै हुन् । डेपुटी सीईओ बन्नेछन् मनोज न्यौपाने, जो अहिले सेञ्चुरी बैंकको सीईओ छन् ।
मर्जरपछि बन्ने प्रभु बैंकको सञ्चालक समिति सात सदस्यीय हुने छ, जसमा अध्यक्षसहित ४ सदस्य प्रभु बैंकबाट र ३ सदस्य सेञ्चुरी बैंकबाट रहनेछन् । मर्जर तथा प्राप्तिका लागि १ः१ को प्रारम्भिक स्वाप तयार भएको बैंकका प्रतिनिधिहरूले बताएका छन् । विजनेस ग्रोथ, खराब कर्जा असुलीमा प्रगति अनि राष्ट्र बैंकका नीति पालनामा इमानदार देखिएकाले सेञ्चुरी बैंकलाई प्रभु बैंक पक्षले १ः१ को सेयर स्वाप अनुपातमा सहमति जनाएको बताइएको छ । सेञ्चुरी बैंकका लागि यो सम्मानजनक हिस्सा हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको पछिल्लो सेयर मूल्य प्रति कित्ता २ सय ३१ रुपैयाँ तथा सेञ्चुरीको १ सय ९३ रुपैयाँ छ । अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड तथा सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने प्रभु बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ नाघ्ने छ । एकीकृत बैंकको निक्षेप आकार करिब ३ खर्बनजिकको हुने छ भने कर्जा प्रवाहको आकार २ खर्ब ३६ अर्बभन्दा बढीको हुने छ ।
सहमतिहरू बुँदामा
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा जाने
मर्जरपछि संस्थाको नाम प्रभु बैंक लिमिटेड रहने
सीईओ अशोक शेरचन रहने
डेपुटी सीईओ मनोज न्यौपाने रहने
सञ्चालक समिति सात सदस्यीय हुने, जसमा अध्यक्षसहित चारजना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट रहने
स्वाप अनुपात १ः१ रहने
आगामी पुसभित्रै एकीकृत कारोबार सुरु गर्ने

