वि.सं.२०८३ साउन १३ बुधवार
Dish Home Long Ad
सुनसरी घटनाबारे सर्वदलीय बैठकको सातबुँदे अपिल
Prabhu Bank AD

काठमाडौ । सुनसरी घटनामा दलहरूले सामाजिक सद्भाव कायम राख्न सातबुँदे अपिल गरेका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो । बैठकपछि दलहरूले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित संवेदनशील तथा दुःखद घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र निष्पक्ष छानबिनको मागसहित संयुक्त वक्तव्य अपिल जारी गरेका हुन् ।

बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परालाई कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ । सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि तथा उत्तेजनामा नलाग्न अपिल गर्दै आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने उल्लेख गरिएको छ ।

बैठकले लोकतान्त्रिक व्यवस्थामा सबै प्रकारका असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिमार्फत मात्र सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न आग्रह गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न, संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरी विश्वासको वातावरण निर्माण गर्न निर्देशनसमेत दिइएको छ ।

यसैगरी, यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहप्रति सचेत रहन आग्रह गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

संयुक्त वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, अधिकतम संयमता अपनाई परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर