काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उधमशिलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक भएको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा गोल्छाले नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको बताए । सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको उनको भनाइ थियो ।
‘हामीले देशमा नै नयाँ उद्यमी विकास नगर्ने र युवाहरूलाई आफ्नै देशमा नै भविष्य देखाउन सकेनौँ भने भोलिको भविष्य कल्पना मात्रै गर्न सक्छौँ । नयाँ उद्यम स्थापना भएन भने देशमा कसरी हुन्छ’ गोल्छाले भने, ‘रोजगारीको सिर्जना र समृद्धि ल्याउनको लागि नयाँ उद्यमी चाहिन्छ । स्टार्टअप चाहिन्छ तर सफलता कम हुन्छ । त्यसलाई बढाउनको लागि इन्कुबेटर्स चाहिन्छ ।’
सरकारले नेपाली युवालाई देशभित्र नै भविष्य बनाउनको लागि इन्कुबेसनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको गोल्छाले बताए ।
‘हाम्रा ५० लाखभन्दा बढी युवा आफ्नो देशमा भविष्य खोज्न नसकेर विदेश पलायन भएका छन् । यो सत्य हो,’ गोल्छाले भने, ‘उनीहरूले पठाएको रेमिट्यान्सले अहिले मुलुकको अर्थतन्त्र चलायमान भएको छ ।’
बिजनेस इन्कुबेटर कन्फरेन्सले घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने र स्टार्टअप इकोसिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने पनि घोषणा गरेको छ ।
कन्फरेन्स नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, इसिमोड र नेदरल्याण्डको पुम संस्थाको सहकार्यमा गरिएको थियो ।

