काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)को साउन ४ गते कार्यगत एकता गर्ने विषयमा बैठक बस्यो ।
बैठकमा एकातिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दामा संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा (बहुमत), सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), लोकनारायण सुवेदी नेतृत्वको नेकपा र नारायण शर्मा नेतृत्वको क्रान्तिकारी संयुक्त मोर्चा सम्मिलित ६ दलीय मोर्चा र विप्लव, आहुति, ऋषि कट्टेल र कर्णजित बुढा सम्मिलित चार दलीय मोर्चाबीच वृहत कार्यगत एकता वा संयुक्त मोर्चा बनाउने विषयमा छलफल भयो । बैठकमा सहभागि एक नेताका अनुसार दुवै मोर्चालाई समेटेर १० दलीय मोर्चा बनाउने सहमति भएको थियो ।
बैठकमा ६ दलीय मोर्चाको तर्फबाट सिपी गजुरेल मात्र सहभागि भएका थिए । बैठकमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा कार्यगत एकता गरेर अगाडि जाने विषयमा समझदारी भएको थियो । तर यो बिषयलाई वक्तव्यमार्फत् बाहिर लैजाने समझदारी भएको थिएन ।
बैठकमा भएको सहमति तथा समझदारी विपरीत विप्लवले वक्तव्य जारी गरेपछि नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले वक्तव्य नै निकालेर त्यसको विरोध गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “पाँच राजनीतिक पार्टी र एक मोर्चा सम्मिलित कार्यगत एकताको यही श्रावण ४ गते भएको छलफलका दौरानमा भएका केही समझदारीको सार्वजनिकीकरण गरिएको सन्दर्भमा सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीप्रति ध्यान आकर्षित भएको भएको छ । छलफलका दौरानमा भएको समझदारीका सन्दर्भमा उक्त वक्तव्यमा उल्लेखित कतिपय विषयमा हाम्रो मत नमिलेको कुरा सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।”

विप्लवले नेकपा (क्रान्तिकारी माओवादी)सहितको ६ दलीय मोर्चाको सहकार्यलाई भताभुङ्ग पार्ने, आफूबाट फुटेर बनेको नेकपा (बहुमत)लाई कार्यगत एकतामा नराख्ने लगायतका पूर्वाग्रही र षड्यन्त्रपूर्ण मानसिकता राखेर सहमति विपरीत वक्तव्य जारी गरेको ६ दलीय मोर्चामा आवद्ध दलका एक नेताले गाउँनगर डटकमलाई बताए ।
उनले भने, “विप्लवले आफ्नो पार्टीको नाम पहिलो नम्बरमा राखेर वक्तव्य जारी गरे । किरण र किरणले नेतृत्व गरेको पार्टीको नामलाई पछि राखेर वक्तव्य जारी गर्ने विप्लवको मानसिकता अरुलाई उपयोग गर्ने दुराशयपूर्ण देखियो । यस्तो मानसिकताबाट कसरी कार्यगत एकता अगाडि बढ्छ ? यसको गम्भिर समीक्षा गर्नुपर्ने देखियो ।”

पाँच पार्टी र एक मोर्चाको नामबाट विप्लवले जारी गरेको वक्तव्यमा भनिएको थियो, “आज २०७९ श्रावण ४ गते हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको वैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाण्डौँमा बस्यो । वैठकका निर्णयहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ । हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने छौँ । हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको भोली अपराह्यन नै वैठक बसी आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने विषयमा निर्णय लिइने छ ।”

