काठमाडौँ । भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचेअनुरुप नै सफल भएको बताए । तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किएका प्रचण्डले आइतबार मध्याह्न पौने १ बजेसम्म पनि आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको बताए।
‘लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन। भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि,’ प्रचण्डले भने, ‘पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो। कारण मलाई पनि थाहा छैन।’
मोदीसँग भेट नभए पनि आफ्नो भ्रमण अपेक्षाअनुसार नै भएको प्रचण्डले बताए। आफूलाई विमानस्थलदेखि भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयसम्म गरिएको स्वागत भव्य रहेको उनले बताए।
आफूले भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश मन्त्री एस जयशंकर र भाजपा अध्यक्ष जेपी नड्डासँग भेटेको उनले जानकारी दिए।
‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने, ‘म निकै आशावादी भएर फर्किएको छु।’
दिल्लीमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणासँग शिष्टाचार भेट भएको प्रचण्डले बताए।
‘उहाँ उपचारका लागि जानुभएको हो। प्रधानमन्त्रीकी पत्नी र कांग्रेसकी केन्द्रीय सदस्य पनि भएकाले उहाँको उपचारमा चासो राखेर शिष्टाचार भेट गर्नु स्वभाविक हो। हामीले नेपाली दूतावासमा भेटेका हौं,’ उनले भने, ‘त्यो भेटमा उहाँको स्वास्थ्यलगायत सामान्य विषयमा कुरा भएको हो। त्योभन्दा बढी बुझ्नुभयो भने गलत हुन्छ।’

