काठमाडौं । उदयपुरका चार नगर र चार गाउँपालिकामा २७ करोड २७ लाख ५९ हजार बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७र७८ मा उदयपुरमा २७ करोड बढी बेरुजु रहेको पाइएको हो ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु कटारी नगरपालिकामा देखिएको छ । कटारी नगरपालिकामा नौ करोड ५५ लाख ५६ हजार रहेको छ । यसैगरी, सबैभन्दा कम बेरुजु उदयपुरगढी गाउँपालिकामा रहेको छ । उदयपुरगढीमा ४५ लाख ८२ हजार मात्र रहेको छ ।
बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबार हो वा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुनबमोजिम रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।
यसैगरी, चौदण्डीगढी नगरपालिकामा तीन करोड ९५ लाख १३ हजार बेरुजु रहेको छ । यस्तै त्रियुगा नगरपालिकामा ६ करोड ८२ लाख ९९ हजार र बेलका नगरपाकिलामा तीन करोड तीन लाख ४७ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार ताप्ली गाउँपालिकामा एक करोड ७० लाख ३७ हजार, रौतामाई गाउँपाकिलामा एक करोड ४५ लाख ९९ हजार र लिम्चुङबुङ गाउँपालिकामा दुई करोड ८२ लाख ६० हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिदेनका अनुसार चार गाउँपालिकामा मध्ये लिम्चुङबुङ सबैभन्दा धेरै बेरुजुर रहने गाउँपालिकामा परेको छ । उदयपुरगढीमा सबैभन्दा कम रहेको छ । यता चार नगरपालिकामा कटारी नगरपालिका सबैभन्दा बढी र बेलका नगरपालिकामा कम बेरुजु रहने नगरपालिकामा परेको छ ।

