वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
हामी त भोट बैंक मात्र हो, सबै आउँछन् झुटा आश्वासन दिएर जान्छन्
Prabhu Bank AD

 

सिरहा । हामी त भोट बैंक मात्र हो, सबै आउँछन् झुटा आश्वासन दिएर जान्छन् । हरिपुर बेतौनाका मुसहर समुदायले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारीका वीच गुनासो गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ मा ४१ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरू चुनावी प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा जुटिरहँदा यो क्षेत्रमा पर्ने हरिपुर बेतौनाका मुसहर समुदाय भने आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्तामै छन् ।

सिरहा क्षेत्र नम्बर ३ मा पर्ने गोलबजार नगरपालिका १२ हरिपुर बेतौनाका ६० घरपरिवार पानी, शौचालय जस्ता आधारभूत सुविधाबाट वर्षौंदेखि वञ्चित छन् । चुनावी माहोल बढ्दै जाँदा उनीहरू भने ओत लाग्ने घर, शुद्ध पिउने पानी र शौचालयको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । शौचालय नहुँदा अर्काको खेतबारीमा गएर शौच गर्नुपर्ने बाध्यता छ, आइरनयुक्त दूषित पानी पिउनुपर्छ ।

उनीहरूले आफ्नै बलबुतामा चुलै अगाडि शौचालय र घरको बलेसीमै पानीका लागि चापाकल जडान गरेका थिए । टहरो अड्याउने जमिन समेत नभएका यहाँका सदायको आँगनै भएर गएको गोलबजार–लगडीगदियानी सडक विस्तारका क्रममा पाँच वर्षअघि घर, शौचालय र पाचाकलहरु भत्काइए । त्यसपछि उनीहरु घर, शौचालय र पिउने पानीको समस्या भोगिरहेका छन् । धेरैले भत्किएका घर सकार्न सकेका छैनन् । कतिपयले पानीको जोहो समेत गर्न सकेका छैनन् भने जमिनै नभएपछि शौचालय बनाउने त कुरै भएन ।

गोलबजार नगरपालिकाले भने वर्षेनि पिउने पानी र सिँचाई बोर्डिङ जडानका लागि करोडौं रकम खर्च गर्दै आएको छ । प्रदेश र संघीय सांसदले पनि सिंचाई र खानेपानीका लागि राम्रै पहल गरे । तर ६० घर दलित विपन्न सदाय परिवार आज पनि आइरनयुक्त दूषित पानी पिउन बाध्य छन् । उनीहरुले त्यही पानी तान्ने चापाकल समेत पाएका छैनन् । यसले जितेर गएका जनप्रतिनिधिको दलितप्रतिको दृष्टिकोण उजागर गरेको छ ।

‘जमिन छैन, एउटै घरमा खाट मात्र अट्ने गरी बारेर सुत्ने गरेका छौं । आँगन दुईजना राम्रोसँग उभिन मिल्नेसम्म पनि छैन,’ उनी भन्छन्, ‘त्यति जमिनमा कता पानीका लागि कल जडान गर्ने, कता शौचालय बनाउने ?

संविधान जारी भएपछि दुईवटा निर्वाचन सम्पन्न भयो, तर आफूहरुले विकासका नाममा पानी समेत नपाएको उनको गुनासो छ । ‘चुनावका बेला घर बनाइदिने, पानी, बिजुली, शिक्षा, स्वास्थ्य सबै दिने वाचा गर्छन्, चुनाव जितेपछि हामी गरिबले केही पाउँदैनौं,’ उनी भन्छन् ।

नगरपालिका र वडा कार्यालयले गाउँभरि नै पिउने पानी र सिंचाईका लागि कल र बोरिङ जडान गरेपनि यस बस्तीमा केही छैन । ५० वर्षीय गंगावत सदायको घर सडक विस्तारका क्रममा भत्काइयो । ‘पानी र शौचालयको के कुरा, आर्थिक अभावका कारण भत्केको घर सकार्न सकेको छैन,’ उनी भन्छन्, ‘शौचालय नभएकाले हाम्रा छोरीबुहारीले लोकलाज त खेप्दै आएका छन् । कहिलेकाहीँ खेतवालाको बेइज्जती पनि सहनुपर्छ ।’

गरिबदुःखीका लागि सरकार नै नभएको जस्तो लाग्ने उनी गुनासो गर्छन् । ‘हाम्रो लागि सरकार कहाँ छ र हामी त भोट बैंक मात्र हौं । सबै आउँछन् झुटो आश्वासन दिन्छन् । चुनावपछि हामीसँग भेटै हुँदैन,’ सदाय भन्छन् ।

गंगादेवी र प्रमोद त प्रतिनिधि पात्र हुन् । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो बस्तीका ६० घरपरिवारकै पीडा उस्तै छन् । उनीहरु अब चुनावमा झुटा आश्वासन बाँड्ने होइन, काम गरेर देखाउने नेता चुन्न चाहन्छन् । पुराना दलले आफ्ना लागि केही नगरेको भन्दै उनीहरू अब नयाँ दल र नेता चुन्ने सोचमा छन् । यो निर्वाचन क्षेत्रमा ५५ हजार ८५९ महिला र ६३ हजार ३९१ पुरुष गरी एक लाख १९ हजार २५० जना मतदाता छन् । चुनावका लागि ५३ वटा मतदानस्थल र १३६ मतदान केन्द्र तोकिएको छ ।

सिरहा ३ मा नेपाली कांग्रेसका सुभाषचन्द्र यादव, नेकपा एमालेका लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह र राष्ट्रिय स्वतन्त्र पार्टीका डा। शम्भु यादव उम्मेदवार छन् । यस्तै जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव र जनमत पार्टीबाट रोहित महतो चुनावी मैदानमा छन् । यो क्षेत्रमा यसपटक यिनै दलबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर