काठमाडौँ । निजामती सेवासम्बन्धी विधेयकमा संसद् र सरकारभन्दा पनि शीर्ष तहका कर्मचारी हाबी भएको भन्दै एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले आपत्ति जनाएका छन् ।
विधेयक लेखनदेखि पारित गर्ने बेलासम्म शीर्ष कर्मचारी हाबी भएको सांसद रिजालको भनाइ थियो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा सांसद रिजालले उक्त धारणा राखेका हुन ।
शीर्ष कर्मचारीहरू विधेयकको ड्राफ्ट लेखनदेखि नै संलग्न रहेको र उनीहरूले संसद्मा समेत प्रभाव पारेर आफ्ना लागि मात्रै कानुनी व्यवस्था गर्न खोजेको सांसद रिजालको भनाइ थियो । यो विधेयक आउँदा पनि जसको हात जगन्नाथ भने जसरी तल्लो तहको कर्मचारीलाई पनि बिर्सिएको जस्तो देखिएको छ । विधेयकको मस्यौदा लेखनमा सहभागिता लगायत माथिल्लो तहको कर्मचारीको माग मात्रै यो विधेयकले सम्बोधन गरेको जस्तो देखिन्छ । सरकारले तल्लो तहको कर्मचारीलाई वास्ता नगरेजस्तो भान भएको छ, रिजालले भने, यो निजामती कर्मचारीको नियमन र सेवाको सर्तको कानुनी व्यवस्था गर्न बनाइएको विधेयक हो । तर उहाँहरू नै संसद्भन्दा बढी प्रभावकारी हुन खोज्ने देखियो ।
विधेयकमा ुकुलिङ अफ पिरियडुको व्यवस्थालाई लिएर विवाद उत्पन्न भएको पनि सांसद रिजालले बताए । शीर्ष पदमा रहेका कर्मचारीले विधेयकमा राखेको अनावश्यक चासोका कारण निजामती विधेयकमा विवाद र चासो उत्पन्न भएको उनको भनाइ थियो ।
संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक कानुनी व्यवस्था गर्न लागिएको सांसद रिजालले बताए । ुकुलिङ अफ पिरियडुलगायतका विषयमा राष्ट्रिय सभाको समितिले व्यवस्थित गरेर विधेयक अगाडि बढाउनुपर्ने सांसद रिजालको भनाइ थियो ।

