काठमाडौं । जहाज चढेर आउँदा हल्लाखल्ला हुने डरले भारतीय गुप्तचरहरु छापामार शैलीमा गाडीबाटै नेपाल छिर्ने गरेका छन् । यसक्रममा ‘रअ’ का उपप्रमुख शशिभुषणसिंह (एसबिएस) तोमर र प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार समूहका उपप्रमुख विक्रम मिश्रीसहितको टोली काठमाडौं भित्रिएर नेताहरुसँग गाेप्य भेटघाट गरेर फर्किएकाे छ ।
परराष्ट्र स्रोतका अनुसार, तीन जनाको टोली वीरगञ्ज हुँदै असार ६ गते काठमाडौं भित्रियो र ५ दिनसम्म काठमाडौं बसेर ११ गते फर्किएको छ । उक्त टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका वरिष्ठ नेताहरु, प्रधानमन्त्रीका विश्वासिला मन्त्री र मधेशवादी दलका केही नेतासँग भेट गरेको थियो ।
उक्त टोलीले ९ गते बेलुका कलंकीको घरैमा गएर कामु प्रधानन्यायाधीश दिपक कार्की र केही वरिष्ठ अधिवक्ताहरुसँग पनि भेट ग¥यो । संगम होटलमा बसेको टोलीले हायात र मेरियटमा विभिन्न व्यक्तिसँग भेटघाट गरेको स्राेतकाे दाबी छ ।
कतिपय नेतासँग भने घरघरमै भेट्न गएको थियो । उक्त टोलीले निजगढ विमानस्थलको निर्माणले बिहार राज्यको आर्थिक अवस्थालाई असर पार्ने र मधेश प्रदेशमा चीनको घुसपैठ बढ्ने राय प्रकट गरेको स्राेतकाे दाबी छ ।
सो टोलीले होटल मल्लमा कांग्रेस नेता शेखर कोइरालासँग भेटेको कुरा अमरेशकुमार सिंहले वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई सुनाएका छन् । उनले भनेअनुसार, टोलीले रामचन्द्र पौडेल, सुजाता कोइराला, महन्थ ठाकुर र प्रचण्डसँग भेट गरेको थियो ।
तोमरसँगै आएका विक्रम मिश्री चीनमा तीन वर्ष राजदूत रहिसकेका र ६ महिनाअघि मात्र सल्लाहकार समूहमा छिरेका थिए ।

