दैलेख । कोरोना महामारीका कारण झन्डै तीन वर्ष रोकिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम फेरि सुरु हुने भएको छ । पेट्रोलियम पदार्थ तथा ग्यास खानी अन्वेषणका लागि ७ जना चिनियाँ प्राविधिकसहितको टोली हालै दैलेख पुगेको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेशनाथ त्रिपाठीले चिनियाँ प्राविधिकसहित विभागको टोली दैलेख पुगिसकेको बताए ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण अघि बढाइएको थियो । तर कोरोना महामारी सुरु हुनासाथ चिनियाँ टोली स्वदेश फर्केको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता गरिए पनि गत चैत १४ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गरेको विभागले जनाएको छ । हाल परियोजनाले पहिलो चरणको काम मात्र सकेको छ । स्थलगत काम सकेर २०७६ फागुनमा चीन गएको प्राविधिक टोली फर्किएसँगै बाँकी काम सुरु गर्न लागिएको भूगर्भविद् त्रिपाठीले बताए ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । उक्त क्षेत्रको २० हजार २० वर्गमिटरमा गरिएको सर्भेका आधारमा अब ड्रिलिङको काम गरिने विभागले जनाएको छ ।
भूगर्भविद् त्रिपाठीले चिनियाँ टोलीले इन्धन अन्वेषणका लागि यसपटक ड्रिलिङ गर्ने सबैभन्दा उपयुक्त स्थानको छनोट गरिरहेको बताए । ‘अब ज्वाला बलेको स्थानका ३ ठाउँमा ड्रिलिङको काम सकिन्छ,’ उनले भने, ‘वर्षौंदेखि ग्यास बलेको पादुका, श्रीस्थान र नाभीस्थानमा कम्तीमा ४ किलोमिटर गहिरो ड्रिलिङ गर्ने गरी काम अघि बढाइएको छ ।’

