काठमाडौं । आगामी मौद्रिक नीतिमा उत्पादनशिल क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई बैंकर्सहरुले यस्तो सुझाव दिएका हुन् ।
बैंकर्सहरु सबैले मौद्रिक नीतिको सुझावमा उत्पादन क्षेत्रमा कर्जा प्रभावलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै नेपाल बैकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपध्यायले उत्पादनशिल क्षेत्रमा लगानी बढाउने किसिमको मौद्रिक नीति आउनुपर्ने सुझाव दिए ।
उनले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सकेमात्रै अर्थतन्त्रमा सुधार आउने बताए । उपाध्ययले नेपालमा आउने रेमिट्यान्स बैंकिङ प्रणाली भन्दा टाढा रहेकाले बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए । उनले उत्पादन क्षेत्रमा जति मार्जिन दियो त्यति बढ्दै जाने बताए । अध्यक्ष उपध्यायले उत्पादनमुलक र अनुत्पादनमुलक क्षेत्र छुट्याएर जोखिम भारलाई कम गरेमा भने बैंकहरुलाई प्रोत्साहन हुने बताए । उनले उत्पादन क्षेत्रमा जोखिम भार फरक गरिनुपर्ने बताए । उनले बैंकहरुमा लागू भएको बेस रेट व्यवहारीक नभएको भन्दै मौद्रिक नीतिमार्फत सुधार गर्न सुझाव दिए ।
यस्तै, विकास बैंकर्स एशोसिएशनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिने कर्जाको जोखिम भार मौद्रिक नीतिमार्फत घटाउनुपर्ने बताए । उनले त्यस्तो कर्जामा जोखिम भार घटाउँदा सजिलै उद्योगले कर्जा पाएर आन्तरिक उत्पादन बढ्ने बताए ।
अध्यक्ष पोखरेलले अहिले बैंकहरुबाट उत्पादन क्षेत्रमा निर्देशित मात्रै कर्जा लगानी भएको भन्दै राष्ट्र बैंकले तोकिएको प्रतिशत भन्दा बढी उत्पादन क्षेत्रमा लगानी गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले मौद्रिक नीतिमार्फत विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न सुझाव दिए । अध्यक्ष पोखरेलले विकास बैंकलाई पनि सरकारी कारोबार गर्न दिए बैकिङ क्षेत्रको स्थिरतालाई सहयोग गर्ने बताए ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुको कर्जा लगानी उत्पादन क्षेत्रमा बढी गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीतिमा उल्लेख हुनुपर्ने बताए । उनले पछिल्लो समय बैंकहरुले उत्पादन क्षेत्र भन्दा बाहिर बढी लगानी गर्दा समस्या आएको बताए । त्यस्तै, अध्यक्ष गोल्यानले विदेशबाट आउने रेमिट्यान्समा मौद्रिक नीतिमार्फत थप दुई प्रतिशत ब्याजको व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालमा विदेशी लगानी ल्याउनको लागि मौद्रिक नीतिमार्फत सहज बनाउनु पर्ने बताए ।
अध्यक्ष गोल्यानले बैंकहरुमा १० लाख भन्दा बढी जम्मा गर्न नपाउने भएको भन्दै मौद्रिक नीतिमार्फत २५ लाखसम्म बैंकको मुद्धती खातामा पैसा राख्न पाउने व्यवस्था गर्न माग गरे ।

