काठमाडौं । जसपाका बाबुराम भट्टराईदेखि वामदेव गौतमसम्मलाई एउटै पार्टीमा अटाउने गरी ‘समाजवादी केन्द्र’ बनाउने तयारीमा माओवादी केन्द्र र एसमाजवादीका नेताहरु जुटेको स्रोतको दाबी छ ।
बाबुरामले प्रचण्डलाई कम्युनिस्ट नाम परिवर्तन गरेर समाजवादी केन्द्र मात्रै राख्न सुझाब दिएका छन् । त्यसो गरे एउटै पार्टी बनाएर अगाडि बढ्न सकिने प्रस्ताव उनले अघि सारेका छन् ।

त्यसैगरी माधव नेपाल नेतृत्वको एसमाजवादीले पनि विचार र राजनीति मिल्ने पार्टीहरुबीच एउटै पार्टी बनाउने हो भने समाजवादी केन्द्र बनाएर अगाडि बढ्न सकिने बताएको स्रोतको दाबी छ ।
समाजवादी केन्द्र बनाए वामदेव गौतमलाई पनि जोडिन सहज हुने विश्लेषण गरिएको छ र एक चरण नेताहरुसँग बसाइ समेत भएको स्रोतको दावी छ ।
अहिले माअोवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । प्रचण्डले विभिन्न पार्टीसँग एकता गर्ने र सिनियर नेताहरु भित्रयाउने तयारीमा रहेका कारण प्रचण्डले पदाधिकारी चयनमा ढिलाई गर्ने संकेत गरेका हुन् ।
प्रचण्डले अन्य दलसँगको एकताबाहेक पदाधिकारी बनाउँदा पार्टीभित्र बढ्ने असन्तुष्टिले चुनावमा असर गर्न सक्छ भनेर पनि अहिले पदाधिकारी नबनाउने सोच देखिएका हुन् ।

