वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले भेटे परराष्ट्रमन्त्री बालानन्द शर्मालाई
Prabhu Bank AD

काठमाडौं । नेपालस्थित अमेरिकी दूताबासका कार्यवाहक राजदूत स्कट अर्बमले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेका छन् । उनले आज दिउसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । भेटका क्रममा द्विपक्षीय सम्बन्धका अनेक आयामका विषयमा कुरा भएको स्रोतले जानकारी दियो । भेटमा भएको विस्तृत कुराकानी भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

अमेरिकी एम्बेसी स्रोतका अनुसार स्कट अर्बम वरिष्ठ परराष्ट्र सेवाका करिअर सदस्य हुन् । उनी सन् २०२५ को डिसेम्बरमा कार्यवाहक राजदूत पदमा बहाल भएका हुन् ।

स्कटले आफ्नो विशिष्ट कूटनीतिक कार्यजीवनका क्रममा कराँचीस्थित महावाणिज्यदूतस भारत, नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्दिभ्स मामिला हेर्ने कार्यालयका निर्देशक र कोरियाली मामिला कार्यालयका उपनिर्देशक लगायतका विभिन्न नेतृत्वदायी भूमिकाहरू सम्हालिसकेका छन् । उनले ताइवानस्थित अमेरिकन इन्सटिचिउटका राजनीतिक उपप्रमुख र कोरियाली मामिला कार्यालयमा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया एकाइका प्रमुखका रूपमा पनि काम गरेका छन् । परराष्ट्र मामिलासम्बन्धी भूमिकाहरूमा उनीसँग बेइजिङ, ब्रिजटाउन र किएभमा पनि सेवा गरेको अनुभव छ । उनीसँग बहुल भौगोलिक क्षेत्रहरूको फराकिलो अनुभव रहेको पनि दूताबास स्रोतले जानकारी दियो ।

परराष्ट्र सेवामा प्रवेश गर्नुअघि स्कटले कजाकस्तानमा एक पिसकोर स्वयंसेवकका रूपमा अङ्ग्रेजीको अध्यापन गरेका थिए । उनले जर्जटाउन विश्वविद्यालयको स्कुल अफ फोरन सर्भिसबाट स्नातक र हार्भर्ड विश्वविद्यालय र नेसनल वार कलेज दुवैबाट स्नातकोत्तर गरेका छन् ।

काठमाडौँमा स्कटका साथ उनकी श्रीमती सोनिया पनि छिन्, जो एक शिक्षिकाका साथै अवकाशप्राप्त अमेरिकी कूटनीतिज्ञ पनि हुन् । उनीहरुका दुई छोरी रहेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय