काठमाडौं । सहकारी ठगी प्रकरणमा दोषी करार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरेपछि रास्वपा पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको भीड लागेको छ । रवि लामिछानेले चीन भ्रमणमा गएका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको टोलीलाई आकस्मिक रुपमा फिर्ता बोलाइसकेका छन् । रवि माथि एक्सन गर्न खोजेपछि अमेरिकामा पनि त्यसको असर देखिने र असुरक्षा पैदा हुने भन्दै राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागतका लागि तयारी गरिएको कार्यक्रम अचानक स्थगित गरिएको छ ।
नेपाली महावाणिज्यदूतावास,न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै नेपालीहरुसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ । सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय परराष्ट्रमन्त्री अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’
समाचार स्रोतका अनुसार कार्यक्रमस्थलमा प्रधानमन्त्रीमाथि रवि लामिछाने समर्थकहरुले जुत्ता र बोटलहरु फ्याँक्दै नाराबाजी गर्ने योजना बुनेको अमेरिकी सुरक्षा निकायलाई प्राप्त जानकारी महावाणिज्यदूतावासलाई उपलब्ध गराइएको थियो । त्यसलगत्तै उक्त कार्यक्रम रद्द गरिएको बताइन्छ ।
यता,हिजो बेलुकी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्ने डरले लामिछाने राति अबेरसम्म पार्टी कार्यालयभित्र बसेर केही नेता,सांसद र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा कार्यकर्तालाई बोलाई नाराबाजी गरेपछि राति साढे ९ बजे फेसबुक लाइभमा भाषण गर्दै नियन्त्रणमा लिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

