वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
चीनसँग जोडिएको संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्ताला नाका खोल्ने तयारी
Prabhu Bank AD

काठमाडौं । कोरोना संक्रमणका बेलादेखि बन्द उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्ताला नाका चार वर्षपछि सुचारु गर्न चिनियाँ राजदूत छन सोङ्ग विहीबार स्वदेश गएका छन् । छङ्तु हुँदै तिब्बती बाटो भएर उच्चपदस्थ चिनियाँ पदाधिकारीहरुसहित उनी पर्सि शनिवार नेपाल–चीन सीमा नाकामा आइपुग्नेछन् । नाका सुचारु गरिवरी बल्ल १४ गते सोमबार नेपाल फर्कने उनको कार्यक्रम छ ।

कोरोना संक्रमण फैलिने डरका कारण चीनले ०७७ देखि किमाथांका नाका बन्द गरेपछि आवतजावत ठप्प थियो । नाका बन्द हुँदा भोटखोलावासी सबैभन्दा बढी समस्यामा परेका थिए । नेपाल सरकारका तर्फबाट भएको पटक–पटकको आग्रहमा चीन सहमत भएपछि पर्सि शनिवारदेखि नाका खुल्ने निश्चित भएको हो।

नाका खुलाउन चीनका तर्फबाट औपचारिक रूपमा निमन्त्रणा आएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्‌काले बताए । शनिबार औपचारिक कार्यक्रमका बीच नाका खोल्ने तयारी छ । दुवै मुलुकका उच्चपदस्थ अधिकारीको सहभागितामा नाका सूचारु गरिने सिडिओ खड्काले जानकारी दिए । कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीसहित गृह र परराष्ट्रका अधिकारी सामेल हुनेछन् ।

०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वका कारण भोटखोला गाउँपालिकाको केन्द्र हटियामा रहेको सीमा भन्सार कार्यालय ०५७ देखि सदरमुकाम खाँदबारीमै छ । लामो प्रयासपछि नाका खुला हुने औपचारिक रूपमा जानकारी आएको प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।

चौतर्फी पहलपछि मात्रै नाका खुलाउन सम्भव भएको उनले बताए । सदरमुकाम खाँदबारीदेखि १६२ किमी उत्तरमा रहेको किमाथांका नाका खुल्ने भएपछि भोटखोलावासी खुशी भएका छन् ।

किमाथांका नाका खुलाउन सीमा प्रशासन कार्यालयले यसअघि नै ६ सय ४० जना भोटखोलाका स्थानीयलाई अस्थायी प्रवेशपत्र वितरण गरिसकेको छ । सो प्रवेशपत्रका आधारमा पालैपालो चीन प्रवेश र आवतजावत गर्न पाइने बताइएको छ । यसैबिच, गत मे ७ बाट खुला गर्ने भनिएको टिप्ताला नाका चीनतर्फ तयारी पूरा नभएकाले रोकिएको छ । तिब्बततर्फबाट तयारी पूरा नभएकाले केही दिन पछाडि सरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

आगामी मे २४ बाट नाका खुला हुने जानकारी प्रप्त भएको तर औपचारिक पत्र भने नआएको उनको भनाइ छ । स्थानीय प्रशासनले भने तिब्बत प्रवेश गर्न १३० जना ओलाङचुङगोलावासीलाई अनुमतिपत्र वितरण गरिसकेको छ ।

फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले पनि नाका खोल्नेबारे तिब्बततर्फबाट औपचारिक पत्रको पर्खाइमा रहेको बताए । ओलाङचुङगोला अर्थात् टिप्ताला नाका भएको क्षेत्रका वडाध्यक्ष छेतेन शेर्पाले २४ मेमा स्थानीयवासीलाई तिब्बतबाट बोलाइएको जानकारी दिए । नाका बन्दको असर सबैभन्दा धेरै ओलाङचुङगोलामा परेको छ । चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका यहाँका स्थानीय नाका नखुल्दा मर्कामा परेका छन् । विराटनगरको रानी भन्सार नाका हुँदै ताप्लेजुङको टिप्तालासम्म पुग्ने सडकलाई चीन–भारत जोड्ने नेपालकै छोटो मार्गका रूपमा लिइन्छ ।

Prabhu Bank AD

सम्बन्धित खवर