वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
नेपाली भूमि गुन्जीमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तीव्र विरोध
Prabhu Bank AD

काठमाडौं । भारतीय प्रधानमन्त्रीको भ्रमणबारे भारतले नेपाललाई औपचारिक जानकारी नगराएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्। गृह मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालको गुप्तचर निकायले गराएको जानकारीपछि मात्रै मोदीको भ्रमणबारे नेपाललाई थाहा भएको थियो। दार्चुला जिल्लाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले आफूहरूले अनौपचारिक माध्यमबाट जानकारी पाए पनि भारतीय पक्षले उक्त भ्रमणबारे केही जानकारी नदिएको बताइन्।

नेपाली भूमि गुन्जीमा तिब्बतसँगको सीमामा खटिएका भारतीय सैनिकहरू र सीमामा सडक निर्माणमा संलग्न निकायका अधिकारीहरूसँग पनि अन्तरक्रिया गरेको भिडिओहरू उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जाल एक्समा राखेका छन्। नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मोदीको भ्रमणबारे स्थानीय अधिकारीहरूबाट जानकारी लिने कार्य भइरहेको बताए पनि औपचारिक टिप्पणी गर्न अस्वीकार गरे।

नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले निरन्तर सडक विस्तार गरिरहेको अधिकारीहरू बताउँछन्। भारतले पिथौरागढ हुँदै लिपुलेक र त्यहाँबाट तिब्बतको मानसरोवर जान सकिने सडक विस्तार गरिरहेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसदहरुले भनेका छन्– ‘भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, कूटनीतिक मर्यादा, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भौगोलिक रूपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपालबीचको सम्बन्ध र सामान्य मर्यादालाई समेत उल्लंघन गरेर भ्रमण गर्नुभएको छ । यो कुनै पनि हिसाबले सही होइन,’ एमाले सांसद गैरेले भने, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो । हामी कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनिरहेका छौं । भारतीय प्रधानमन्त्रीको यो भ्रमण नेपाल र भारतबीचको सम्बन्धको विपरीत छ । सामान्य कूटनीतिक मर्यादाको विरुद्धमा छ ।’

माओवादी सांसद माधव सापकोटाले नेपालले कूटनीतिक सक्रियता र भूमिका बढाउन जरुरी रहेको बताए । भारतीय प्रधानमन्त्री मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै उनले छिमेकी देशलाई विश्वासमा लिँदै कूटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको भनाइ राखे । तर कांग्रेस सांसदसमेत रहेका राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूमिमा औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए ।

राप्रपाका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिनाजानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको भन्दै सरकारप्रति आपत्ति जनाए ।

नेपाली भूमिमा मोदी आएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारको जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मोदीले नेपाली भूमि गुन्जीमा गरेको भ्रमणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए । मोदी आएको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दा त्यहाँ जान नपाउने कुरा थाहा भएको लामिछानेले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सूर्य थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा प्रवेश गरेको विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन्।

गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको नेपाली भूमि हो। २०७७ जेठ ३१ गते नेपालको संसदले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने गरी संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो। नेपालले नयाँ नक्सा सार्वजनिक गरेको झन्डै साढे ३ वर्षपछि भारतीय प्रधानमन्त्री मोदी गुञ्जी गाउँ गएका हुन्। तर सरकारले आधिकारिक र औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

नेपालमा बसेर भारतको पक्षमा वकालत गर्ने गरेका ‘राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस)का सदस्य पंकज दासका अनुसार मोदीको कालापानी क्षेत्र भ्रमणबारे सबै जानकारी एक महिना अघि नै नेपालको सुरक्षा निकायलाई गराइएको थियो।’ तर नेपाल सरकारको सुरक्षा निकायले त्यो तथ्यलाई अस्वीकार गरेको छ ।
संसदभन्दा बाहिर रहेका राजनीतिक पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा लगायतका पार्टीहरुले पनि मोदीको नेपाली भूमि भ्रमणको जोडदार रुपमा विरोध गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय