बेइजिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अवसरमा सीएनआई नेपाल उद्योग परिसंघ सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ।
लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न स्थापना गरिएको नेपाल चाइना बिजनेस काउन्सिलको समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्।
यो समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने विश्वास गरिएको छ। व्यापार तथा लगानीका अवसरहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहरीकरणमा सहजता आउने विश्वास गरिएको हो।
यस्तै लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा सम्वादलगायतका गतिविधि गर्ने जनाइएको छ। काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्नेछ।

