वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सुर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनटमा पुग्ने गरी उपत्यकामा द्रुत बस सेवा असोज ३ बाट सुरु हुँदै
Prabhu Bank AD

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ असोजदेखि सञ्चालन गर्ने ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालनका लागि उपत्यकाका सडकमा धमाधम लेन मार्किङ गर्न थालिएको छ । सडक विभागले सम्बन्धित रुटमा आइतबारदेखि लेन मार्किङ गर्ने, संकेत चिह्न राख्ने, द्रुत बस सेवाबारे साइनबोर्ड राख्नेलगायत कार्य गरिरहेको हो ।

गत सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका थिए । सोहीअनुसार यातायात व्यवस्था विभाग, सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सेवाबारे तयारी अघि बढाएका हुन् ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टपहरू कायम गरिएको छ । ती स्टपहरूमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ । ‘३ गते मन्त्रीज्यूले उद्घाटन गर्नुहुन्छ, तर नियमित रूपमा भने ४ गतेदेखि सञ्चालन हुन्छ,’ उनले भने, ‘यो बस सेवा सञ्चालन भएपछि ढिलोमा पनि ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुगिनेछ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा नयाँ बस उपलब्ध गराउनेबारे सम्झौता भइसकेको प्रवक्ता पनेरूको भनाइ छ । बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ ।

भक्तपुरदेखि रत्नपार्कसम्म १९ वटा स्टप

द्रुत बस सेवा जहाँ पायो त्यही रोकिनेछैन । यो बस अन्य सार्वजनिक सवारीसाधनका लागि बनाइएका सबै स्टपहरूमा पनि रोकिँदैन । भक्तपुर सूर्यविनायकदेखि रत्नपार्कसम्म जम्मा १९ वटा मात्रै स्टप छन् । तर, ती स्टपहरू मानिसको सबैभन्दा बढी आवतजावत हुने ठाउँमा राखिएको सडक विभागका प्रवक्ता पोखरेलले जानकारी दिए ।

सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ । द्रुत बस स्टपहरूमा रातो रङले मार्किङ गरिनेछ । सोही आधारमा यात्रुहरूले गाडी कुर्न सक्नेछन् भने चालकले रोक्नुपर्नेछ ।

द्रुत बस सेवा सञ्चालन गर्दा त्यससम्बन्धी ट्राफिक व्यवस्थापनका लागि छुट्टै ट्राफिक राखिनेछ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोक–चोकमा एक–एकजना ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ ।

द्रुत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिनेछैनन् । रातो बत्ती बलेका वेला पनि ट्राफिक प्रहरीले ती बसलाई रोक्नेछैनन् । त्यस्तै, ट्राफिक जाम भएका वेला एम्बुलेन्सजसरी दायाँ–बायाँ मोडेर पनि यो बस सञ्चालन गर्न सकिनेछ । यात्रुलाई छिटो गन्तव्यमा पुर्‍याउने यस बस सेवाको लक्ष्य भएकाले ट्राफिक प्रहरीले पनि अवरोध गर्नेछैनन् ।

सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइनेछ । विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार तिनकुने–माइतीघर क्षेत्रमा सर्भिस लेनको देब्रे साइट, कोटेश्वर चोकआसपासमा मुख्य लेनको देब्रे साइट, कोटेश्वरदेखि जडीबुटीसम्म सर्भिस लेनको देब्रे साइट, जडीबुटीदेखि सूर्यविनायकसम्म मुख्य लेनको देब्रे साइट र माइतीघर–रत्नपार्क क्षेत्रमा मुख्य लेनको देब्रे साइटबाट द्रुत बस गुड्नेछन् । द्रुत बस गुड्ने लेनमा दुई–दुई सय मिटरको दूरीमा १२ मिटरको स्टिकर टाँसिनेछ भने लेनमा पनि रातो रङले पेन्ट गरिनेछ । त्यस्तै, चोक–चोकमा पनि रातो रङले नै मार्किङ गरेर द्रुत बसको बाटो देखाइनेछ ।

Prabhu Bank AD

सम्बन्धित खवर