काठमाडौं । लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीबाट झन्डै २० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ । ‘ड्यानियल’ नामको आँधीपछि आएको बाढीमा परी हजारौं व्यक्ति बेपत्ता छन् ।

बाढीले समुद्री तटको डेर्ना सहर सबैभन्दा धेरै प्रभावित भएको छ । बाढीले तहसनहस भएको डेर्नाका मेयर अक्रम अब्दुल अजिजले कम्तीमा २० हजार जनाको मृत्यु भएको अनुमान गरिएको बताएका छन् । बाढीका कारण पूर्ण ध्वस्त भएका जिल्लाका विवरणमा आधार भएर क्षतिको अनुमान गरिएको उनको भनाइ छ ।
मृत्यु भएका व्यक्तिका शव समुद्रमा बगेका भवनहरूले थिचिएको पनि मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । राहत र उद्धारमा खटिएको टर्किस रेडक्रसका अनुसार भूकम्पकै जस्तै क्षति भएको छ । डेर्नामा अहिले राहत र उद्धारमा विभिन्न देशबाट टोली पुगेका छन् । राहतकर्मीहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलन सक्ने जोखिम भने बढेको छ । बाढीप्रभावित क्षेत्रमा पिउने पानी र शव राख्ने झोला९बडी ब्याग० को अभाव रहेको छ ।

आँधीले डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएपछि लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । लिबियाको सुरक्षा बलका अनुसार टर्की, अल्जेरिया र ट्युनिसियाबाट राहत सामग्री प्राप्त भएको छ । युरोपेली संघले जर्मनी, रोमानिया र फिनल्यान्डबाट लिबियामा सहयोग पठाएको जनाएको छ भने अन्य देशरुलाई पनि सहयोग पठाउन आग्रह गरेको छ ।

तीन दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको सन् २०११ मा हत्या गरिएपछि सन् २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । पश्चिम लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका प्रधानमन्त्री अब्दुल हामिदले राजधानी त्रिपोलीबाट १४ टन खाद्यान्न तथा मेडिकल सामग्री बेंघाजीतर्फ बताएका छन् ।

