वि.सं.२०८३ असोज ४ आइतवार
Dish Home Long Ad
राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ : ‘ग्रे जोन’ रिपोर्ट सेयर गरेको प्रकरणले ततायो राजनीति

विराटनगर – अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालको जेन–जी आन्दोलन र केही नयाँ राजनीतिक नेतृत्वबारे सार्वजनिक गरेको विवादास्पद रिपोर्ट सामाजिक सञ्जालमा फैलाएको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्।मोरङको बेलबारीस्थित सुन्दरहरैँचा–८, सलकपुरबाट आइतबार बिहान प्रहरी नियन्त्रणमा आएका दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरोको जिम्मा लगाइएको छ। राजनीतिक विमर्शसम्बन्धी कार्यक्रमका लागि केही दिनअघि मोरङ पुगेका दाहाल चिया पसलमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार काठमाडौं जिल्ला अदालतबाट साइबर ब्युरोको अनुरोधमा पक्राउ अनुमति जारी भएसँगै उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गरेलगत्तै उनलाई बुद्ध एयरको उडानमार्फत काठमाडौं पठाइएको छ।

के हो ‘ग्रे जोन’ रिपोर्ट र पक्राउको मुख्य कारण ? 

विश्लेषक दाहालले गत भदौ २७ गते (सेप्टेम्बर १२) मा ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक दिँदै अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ को उक्त रिपोर्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए। उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक दलका नेता, आन्दोलनका अगुवा तथा चर्चित व्यक्तित्वहरूको नाम विभिन्न अमेरिकी संघसंस्था र क्षमता विकास परियोजनाहरूसँग जोडिएको दाबी गरिएको थियो।प्रहरी स्रोतका अनुसार उक्त सामग्रीले सामाजिक सञ्जालमा भ्रम फैलाएको र साइबर अपराध कानुनको दायरामा पर्ने भन्दै ब्युरोमा उजुरी परेको थियो। शक्तिकेन्द्र तथा प्रधानमन्त्रीको सचिवालयबाट आएको लगातारको दबाबका कारण अदालतबाट शुक्रबार नै पक्राउ अनुमति लिइएको बताइएको छ।

कार्यक्रम सकेर आजै काठमाडौं फर्किने तयारीमा रहेका दाहाललाई प्रहरीले बिहानै चिया पिउँदै गरेको अवस्थामा पक्राउ गर्नुले यो मामिला थप पेचिलो बन्दै गएको संकेत गरेको छ।

राजनीतिक वृत्तमा तीव्र आक्रोश : एमाले सचिव महेश बस्नेतद्वारा सरकारको आलोचना विश्लेषक दाहालको गिरफ्तारीलाई लिएर नेपालको राजनीतिक वृत्तमा तीखो प्रतिक्रिया सुरु भएको छ।

बस्नेतले एक टिप्पणी जारी गर्दै सरकारको यो कदम पूर्ण रूपमा अधिनायकवादी र प्रतिशोधपूर्ण रहेको आरोप लगाएका छन्।दाहालको पक्राउ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयको प्रत्यक्ष निर्देशनमा भएको जिकिर गर्दै नेता बस्नेतले ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचाले जस्तै’ सरकारले कसूर लुकाउन खोजेको बताए।

‘ग्रे जोन’ को रिपोर्ट गलत भए सम्बन्धित पक्षले खण्डन वा सफाइ दिनुपर्नेमा प्रश्न उठाउने विश्लेषकलाई नै पक्राउ गर्नु निरङ्कुशता भएको उनको भनाइ छ। साथै, उक्त प्रतिवेदनले देशका प्रमुख निकायहरूलाई प्रभावित पार्न विदेशी शक्तिबाट ठूलो रकमको चलखेल भएको गम्भीर विषय उम्दा रूपमा उठाएको दाबी गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने र सुदन गुरुङलगायतका व्यक्तिहरू यसमा मुछिएको विषयमा गम्भीर प्रश्न उठेसँगै उनीहरूले जनतासामु जवाफ दिनुपर्ने माग गरेका छन्।

अबको कानुनी प्रक्रिया

साइबर ब्युरोको अनुरोध र अदालतको अनुमतिमा पक्राउ परेका दाहाललाई काठमाडौं ल्याइएपछि ब्युरोको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइनेछ। सामाजिक सञ्जालको प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको सीमालाई लिएर भइरहेका बहसका बीच राजनीतिक विश्लेषकको यो गिरफ्तारीले देशको वर्तमान राजनीतिमा थप तरंग पैदा गर्ने निश्चित देखिएको छ।

सम्बन्धित खवर