वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
नेपाली सेनाका प्रधानसेनापति सिग्देल चीन भ्रमणमा, सियाङशान फोरममा सहभागि

काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल एक साताव्यापी चीन भ्रमणका लागि आज (सेप्टेम्बर १३) चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उहाँ सेप्टेम्बर १९ मा स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। यो उहाँ प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि चीनको पहिलो भ्रमण हो।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले सेप्टेम्बर १५ देखि १७ सम्म बेइजिङमा आयोजना हुने १३औँ सियाङशान फोरममा सहभागिता जनाउनुहुनेछ। अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा संवादमा केन्द्रित फोरममा अन्तर्राष्ट्रिय व्यवस्था, रणनीतिक स्थायित्व, क्षेत्रीय सुरक्षा चुनौती, स्थानीय द्वन्द्व तथा विकासशील राष्ट्रको भूमिका लगायतका विषयमा छलफल हुँदैछ।

चीन भ्रमणका क्रममा सिग्देलले चिनियाँ उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। ती भेटमा नेपाल–चीन रक्षा सहकार्य, दुई देशका सेनाबीचको सम्बन्ध तथा आगामी ‘सगरमाथा फ्रेन्डसिप’ संयुक्त सैनिक अभ्यासका विषयमा छलफल हुने सम्भावना छ। नेपाल र चीनबीच हुँदै आएको उक्त संयुक्त अभ्यासको छैटौँ संस्करण यसै वर्ष चीनमा आयोजना गर्ने तयारी छ।

समग्रमा, प्रधानसेनापतिको चीन भ्रमणलाई नेपाल–चीन सैन्य तथा सुरक्षा सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण उच्चस्तरीय सैनिक सम्पर्कका रूपमा हेरिएको छ। विशेषगरी सियाङशान फोरमजस्तो अन्तर्राष्ट्रिय सुरक्षा मञ्चमा नेपालको सहभागिताले नेपालको सुरक्षा दृष्टिकोण प्रस्तुत गर्ने र विभिन्न मुलुकका रक्षा नेतृत्वसँग संवाद विस्तार गर्ने अवसर प्रदान गर्नेछ।

सम्बन्धित खवर