वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
भारत र चीनको विशेषज्ञ टोलीद्वारा खोजी तथा उद्दार कार्य सुरु

काठमाडौं । भोटे कोशीका पीडितहरुको खोज तथा उद्दारका लागि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशले आफ्ना खोज तथा उद्धार टोली नेपालमा परिचालन गर्न अनुमति दिन सरकारसँग आग्रह गरेका थिए ।

परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसो उद्धार तथा खोजी कार्य आफ्नै सुरक्षा निकायले गरिरहेको बताउँदै तत्काल विदेशी टोलीको आवश्यकता नरहेको जानकारी दिएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछि नेपाललाई सामान्य खोज तथा उद्धारका लागि नभई विशेषज्ञता र प्राविधिक क्षमता आवश्यक पर्ने विशेषकृत क्षेत्रमा विदेशी सहयोग चाहिएको बताएका थिए । रोयटर्ससँगको कुराकानीमा मन्त्री खनालले सुरुङभित्र फसेका मानिसको उद्धार, पुल भत्किएका स्थानमा यातायात तथा सञ्चार सेवा पुनः सञ्चालन, मृतकको पहिचान, डीएनए परीक्षण तथा शव लामो समयसम्म सुरक्षित राख्नेलगायतका क्षेत्रमा विदेशी सहयोग आवश्यक रहेको बताएका थिए ।

‘हामीसँग पर्याप्त विशेषज्ञता र प्राविधिक ज्ञान नभएका क्षेत्रमा विशेषकृत सेवा र प्राविधिक सहयोगका लागि अनुरोध गरिसकेका छौँ,’ उनले भनेका थिए ।

सरकारले विदेशी सहयोग नचाहिने भनेको भन्दै आलोचना भएको थियो । सरकारले विशेष गरी जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको समयमा उद्धार हुन सकेको भए फसेका आफन्त बाँच्ने थिए भन्दै पीडितका आफन्तले गुनासो गर्दै आएका छन् ।

सरकारले विदेशी सहयोगबाट नागरिकको उद्धार गर्न थालेको छ । भारतबाट आएको ११ जनाको टोलीले रसुवाको विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धार गर्न थालेको छ । त्यस्तै, चिनियाँ टोली पनि सिधै प्रभावित क्षेत्रमा पुगेको छ ।

अस्तव्यस्त हुन्छ भनेर विदेशी उद्धार टोली नबोलाएको उद्धारमा विदेशी सहयोगको आवश्यकता महसुस गरिसकेको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए । शनिबार नुवाकोटको प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका मन्त्री वाग्लेले रसुवा बाढीपछि विदेशी सहयोग नलिने नीति राज्यको नभएको बताएका हुन् ।

विदेशी सहयोग लिने सन्दर्भमा परराष्ट्रमन्त्री खनाललाई विदेशी सञ्चारमाध्यमले पनि प्रश्न गरेका थिए । शनिबार उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग भेटघाट कार्यक्रम राखेका थिए ।

नुवाकोट र रसुवाको भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेको र कठिन भूगोलकै कारण फिल्डमा प्रभावकारी काम नहुन सक्ने भन्दै विदेशीको सबै सहयोग निलिइएको उनको आशय थियो । रसुवा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको र साँघुरा खोँचका कारण ठूला हेलिकोप्टर उडाउनसमेत समस्या भइरहेको उनको भनाइ थियो ।

यसैगरी, फेला परेका शवको संरक्षणका लागि नेपालसँग पर्याप्त क्षमता नभएकाले शवगृहका लागि आवश्यक फ्रिजर उपलब्ध गराउन अन्तर्राष्ट्रिय निकायसँग आग्रह गरिएको उनले बताए । आवश्यकताका आधारमा मात्रै विदेशी विशेषज्ञ टोलीलाई नेपाल बोलाइएको मन्त्री खनालले बताए ।

उनले सुरुङमा फसेकाको उद्धारका लागि विदेशी सहयोग लिन ढिलाइ भएको भन्ने बुझाइ सही नभएको बताए । सुरुङमा फसेकाको उद्धारका लागि तीन दिनपछि मात्र विदेशी सहयोग खोजिएको र सुरुमा नेपाल आफैँले उद्धार गर्न सक्ने भन्दै विदेशी सहयोग नमागिएको हो कि भन्ने प्रश्नमा मन्त्री खनालले औपचारिक सञ्चार प्रक्रियालाई आधार बनाएर घटनाको बुझाइ बनाउन आग्रह गरे ।

‘त्यस्तो त भएन होला । हामीले भन्यौँ, तुरुन्तै अफ भइहाल्ने त भएन,’ उनले भने, ‘भनेपछि गिभन फर्मल त्यो औपचारिक संयन्त्रले जसरी कम्युनिकेट गर्छ, त्यो टाइमलाइन नै तपाईंले एक्स्ट्रापोलेट गर्नुभयो भने, ब्याकवर्ड ट्र्याक गर्नुभयो भने, यदि मान्छे तेस्रो दिन आयो भने सञ्चारको प्रक्रिया त पक्कै पहिला सुरु भयो होला नि त ।’

उनले विदेशी विज्ञ तेस्रो दिन नेपाल आइपुगेको आधारमा त्यसअघि कुनै पहल नै नभएको भन्ने भाष्य बनाउन नहुने बताए । ‘त्यसले गर्दाखेरि एकैचोटि तेस्रो दिनचाहिँ भन्नेबित्तिकै मान्छे आएको भन्नेजस्तो भाष्यबाट हामी त्यस्तो चिन्तन र त्यस्तो बुझाइबाट मुक्त हुनुपर्छ,’ मन्त्री खनालले भने ।

उनले घटनापछि उद्धारका लागि आवश्यक प्रक्रिया क्रमशः अघि बढाइएको दाबी गर्दै भने, ‘पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन एसेसमेन्ट भयो, तेस्रो दिन यहाँ मान्छे आयो ।’
सरकारले विदेशी सहयोग स्वीकार गर्नुअघि नागरिकको दबाबले पनि काम गरेको देखिन्छ । नागरिकले सुरुङमा रहेको आफन्तको उद्धार गर्न दबाब दिएका थिए ।

विपत् र राष्ट्रिय संकट पर्दा विदेशी सहयोग तत्काल र आवश्यकताअनुसार लिइहाल्ने गरेको थियो । विदेशी सहयोग नलिँदा सरकारको आलोचना भने कम हुने गर्थ्यो । १७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरे पहिरोपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न दातृ निकाय, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएका थिए ।

चीन सरकारले जुरे पहिरोले सुनकोसी नदी थुनिएर बनेको कृत्रिम ताल खुलाउन र प्राविधिक सहयोगका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको थियो ।

त्यस्तै, १२ वैशाख २०७२ सालको भूकम्पमा पनि नेपालमा उद्धार र राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायबाट ठूलो मात्रामा सहयोग प्राप्त भएको थियो । भूकम्प गएको केही घण्टाभित्रै विभिन्न मित्रराष्ट्रहरूले आफ्ना विशेषज्ञ उद्धार टोली, मेडिकल टोली, हेलिकोप्टर र राहत सामग्री नेपाल पठाएका थिए । भूकम्प गएको ६ घण्टाभित्रै भारतले भारत सरकारको परराष्ट्र मन्त्रालयमार्फत अपरेसन मैत्री सुरु गरेको थियो ।

त्यस्तै, चीनले आफ्नो विशेष खोज तथा उद्धार टोली चिकित्सकहरू र चिकित्सा सामग्रीसहितको टोली नेपाललाई उपलब्ध गराएको थियो ।

त्यस्तै, अमेरिकाले विपत्‌ व्यवस्थापन प्रतिक्रिया टोली र खोज तथा उद्धार टोली नेपालमा सहयोग गरेको थियो । सो समयमा धेरै देशहरूले प्रत्यक्ष सहयोग गरेका थिए ।

सम्बन्धित खवर