वि.सं.२०८३ असोज ६ मंगलवार
Dish Home Long Ad
दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको संयुक्त गस्तीमाथि सशस्त्र आक्रमण, दुई इथियोपियाली शान्ति सैनिकको मृत्यु ,सात घाइते

काठमाडौ । दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (UNMISS) को गस्तीमाथि अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा दुई इथियोपियाली शान्ति सैनिकको मृत्यु भएको छ भने तीन इथियोपियाली शान्ति सैनिक, दुई दक्षिण सुडानी प्रहरी र UNMISS का दुई नागरिक कर्मचारी गरी सात जना घाइते भएका छन्।

‎घटनाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कडा निन्दा गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकमाथि हुने यस्ता आक्रमण युद्ध अपराध मानिन सक्ने भन्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गर्नुभएको छ। साथै, मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

‎सन् २०११ देखि दक्षिण सुडानमा निरन्तर खटिँदै आएको नेपाली सेनाले नागरिक संरक्षण, सुरक्षा गस्ती, मानवीय सहायता, द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। जोखिमपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले उच्च अनुशासन, संयम र व्यावसायिकता प्रदर्शन गर्दै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउँदै आएका छन्।

‎पछिल्लो घटनाले नेपाली शान्ति सैनिकको सुरक्षा सतर्कता, गस्ती व्यवस्थापन, पूर्वसूचना प्रणाली तथा आकस्मिक उद्धार क्षमतालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।  यसलाई नेपाली सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना र नागरिक संरक्षणको जिम्मेवारी निर्वाह गर्दा आइपर्ने सुरक्षा चुनौतीका रूपमा लिइ विशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

‎समष्टिगत रूपमा, जोङ्लेईको घटनाले दक्षिण सुडानमा शान्ति स्थापनाको चुनौती अझ जटिल रहेको देखाए पनि विगत डेढ दशकदेखि नेपाली सेनाले निर्वाह गर्दै आएको जिम्मेवारी र व्यावसायिक भूमिकाले नेपालको शान्ति सैनिकप्रतिको अन्तर्राष्ट्रिय विश्वास कायम नै रहेपनि पछिल्लो घटनापछि सुरक्षा सतर्कता बढाउँदै शान्ति, नागरिक संरक्षण र मानवीय सेवाप्रतिको आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनु नेपाली शान्ति सैनिकको महत्वपूर्ण जिम्मेवारी देखिएको छ ।

सम्बन्धित खवर