काठमाडौ । सत्ताबाट हटाइएको दुई वर्षपछि बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले बुधबार नयाँ दिल्लीबाट पहिलोपटक भर्चुअल पत्रकार सम्मेलन गरेकी छन् । सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि बंगलादेश छोडेर भारत पुगेकी हसिनाले आफ्नो दल अवामी लिग, देशको राजनीतिक अवस्था तथा स्वदेश फर्किने योजनाबारे धारणा सार्वजनिक गरेकी हुन् ।
हसिनाले आफू यसै वर्षको डिसेम्बरमा बंगलादेश फर्किने योजना रहेको दोहोर्याउँदै उचित समयमा फर्किने मिति र अन्य विवरण सार्वजनिक गर्ने बताइन् । उनले भनिन्, ुम आफ्ना जनताकहाँ अवश्य फर्किनेछु । म यसअघि पनि पटक–पटक पक्राउ परेकी छु र फेरि फर्किएकी छु । मलाई लोकतन्त्र र धर्मनिरपेक्ष परम्परामाथि विश्वास छ ।
नयाँ दिल्लीस्थित फरेन करस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गरेको कार्यक्रममा उनी भिडियोमार्फत सहभागी हुने अपेक्षा गरिएको थियो । तर, उनले केवल अडियोमार्फत आफ्नो धारणा राखिन् भने पत्रकारका प्रश्नहरूको जवाफ दिइन् । समाचार संस्था रोयटर्सका अनुसार उनी भिडियोमा किन नआएकी हुन् भन्ने विषय तत्काल स्पष्ट हुन सकेन, जबकि उनका पार्टीका नेताहरू र छोरा भने भिडियोमा देखिएका थिए ।
हसिनाले आफूलाई राजनीतिक रूपमा फसाउने प्रयास हुन सक्ने दाबी गर्दै भनिन्, ुमलाई बनावटी मुद्दामा फसाउने प्रयास हुन सक्छ, तर डरले जनताप्रतिको मेरो दायित्व वा मेरो जीवनबारे निर्णय गर्न सक्दैन ।
उनले पछिल्ला दुई वर्षमा आफ्नो देश बंगलादेशले ठूलो पीडा भोगिरहेको बताउँदै भनिन्, ुयो हामीले निर्माण गरेको बंगलादेश होइन । यो सन् १९७१ मा ३० लाख मानिसले बलिदान दिएर स्थापना गरेको बंगलादेश पनि होइन ।
सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनबारे बोल्दै हसिनाले उक्त आन्दोलन शान्तिपूर्ण विद्यार्थी आन्दोलन नभएको दाबी गरिन् । उनका अनुसार सरकारले सुरुदेखि नै संवाद, कानुनी प्रक्रिया र धैर्यका माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरेको थियो ।
उनले सुधारका मागको आडमा केही संगठित समूहले विद्यार्थी आन्दोलनलाई हिंसात्मक राजनीतिक अभियानमा रूपान्तरण गरेको आरोप लगाइन् । ुमैले आफ्नो सम्पूर्ण जीवन बंगलादेशका जनतासँग बिताएकी छु । देश छोड्न बाध्य भए पनि म कहिल्यै आफ्ना जनताबाट अलग भएकी छैन,ु उनले भनिन् ।
पत्रकार सम्मेलनअघि लिखित वक्तव्य पढ्दै हसिनाले बंगलादेशमा अहिले डर र असुरक्षाको वातावरण घर, कार्यालय तथा समाजभर फैलिएको दाबी गरिन् । उनले आन्दोलनका क्रममा आफूले विद्यार्थीसँग प्रत्यक्ष संवादको पहल गरेको, उनीहरूलाई प्रधानमन्त्री निवास गणभवनमा आमन्त्रण गरेको तथा तीन मन्त्रीले पनि वार्ताको प्रयास गरेको जानकारी दिइन् ।
उनले योजनाबद्ध रूपमा गलत प्रचार गरिएको, विद्यार्थीहरूको भावनाको दुरुपयोग गरिएको तथा आन्दोलनलाई हिंसा र सत्ता परिवर्तनको माध्यम बनाइएको आरोप लगाइन् । उनका अनुसार आन्दोलनको कुनै स्पष्ट वा जवाफदेही नेतृत्व थिएन र निर्देशन पर्दापछाडिबाट दिइन्थ्यो ।
हसिनाले जुलाई १५ पछि आन्दोलनको स्वरूप परिवर्तन भएको बताउँदै हत्या, आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिमा क्षति तथा बंगलादेश टेलिभिजन भवनमा आगजनी भएको दाबी गरिन् ।
उनका अनुसार सुरक्षाकर्मीमाथि पनि संगठित आक्रमण भएको थियो । उनले प्रहरी अधिकारीहरूको हत्या गरिएको, शव फ्लाइओभरबाट झुण्ड्याइएको, करिब ४६० प्रहरी चौकीमा आक्रमण भएको, हतियार लुटिएको तथा केही सुरक्षाकर्मीलाई भवनभित्रै जीवित जलाइएको आरोप लगाइन् ।
हसिनाले पीडित प्रहरीहरूको विवरण उद्धृत गर्दै कम्तीमा ३ हजार प्रहरी मारिएका, आक्रमणमा परेका वा गम्भीर हिंसाको शिकार भएको दाबी पनि गरिन् । ७८ वर्षीया हसिनाले गत महिना रोयटर्ससँगको अन्तर्वार्तामा पनि वर्षको अन्त्यसम्म बंगलादेश फर्किने बताएकी थिइन् ।
विद्यार्थी आन्दोलनपछि उनीविरुद्ध बंगलादेशको युद्ध अपराध अदालतमा मुद्दा दायर गरिएको थियो । उनीमाथि आन्दोलनका क्रममा घातक बल प्रयोग गर्न आदेश दिएको आरोप लागेको थियो, जसलाई उनले अस्वीकार गरेकी थिइन् । तर, अदालतले नोभेम्बर २०२५ मा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।
शेख हसिनाको पछिल्लो अभिव्यक्तिप्रति बंगलादेश सरकारले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । बंगलादेशले भारतसँग पटक–पटक हसिनाको प्रत्यर्पण माग गर्दै आएको छ ।

