काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी र राप्रपाले गृहमन्त्री गुरुङमाथि नैतिक प्रश्न उठाउँदै मार्गप्रशस्त गर्नसमेत भनेका छन् ।
विपक्षी दलहरूले विवादास्पद व्यापारीसँग सेयर कारोबार गरेका गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी र राप्रपाले गृहमन्त्री गुरुङमाथि नैतिक प्रश्न उठाउँदै मार्गप्रशस्त गर्नसमेत भनेका छन् । कांग्रेसले गुरुङमाथिका सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।
गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको प्रस्ट्याउँदै कांग्रेसले उच्चस्तरीय छानबिनको माग गरेको हो । छानबिनको विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेतर्फ कांग्रेसले सचेत गराएको छ ।
एमालेले गृहमन्त्री गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा कुनै पनि अनुसन्धान शक्ति वा प्रभावबाट मुक्त हुनुपर्ने भन्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयमा गहिरो छानबिन गर्न आग्रह गरेको छ । एमालेले गृहमन्त्री स्वयंले अनुसन्धान प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्नुपर्ने पनि माग गरेको छ ।
श्रम संस्कृति पार्टीले गृहमन्त्री गुरुङलाई राजीनामा दिन सुझाएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार पत्रकार सम्मेलन गरी दिनदिनै विवादमा आउनु ठिक नभएको भन्दै गृहमन्त्री गुरुङले मार्गप्रशस्त गर्नुपर्ने बताए । राप्रपाले पनि गृहमन्त्री गुरुङको विषयमा सरकार र रास्वपाले जवाफ दिनुपर्ने माग गरेको छ ।
यसैबिच, गृहमन्त्री गुरुङले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेको प्रस्टीकरण दिएका छन् । विवादित व्यापारी दीपक भट्टसँग नाम जोडिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै उनले ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ च्यानलबाटै भएको स्पष्ट पारेका हुन् ।
‘२५ लाखको सेयर लुकाइएको भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो । सिधा कुरा, लुकाउने मान्छेले खुला रूपमा दुई करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,’ गुरुङले भनेका छन् ।
गृहमन्त्री सुधन गुरुङ सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारीलगायतका कारण विवादको घेरामा छन्। त्यस्तै, जेन–जी आन्दोलनपछि खरिद गरेको सेयरबारे सम्पत्ति विवरणमा नखुलाएको आरोप पनि उनीमाथि लागेको छ।
जेनजी अगुवाहरूले उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउँछन्।
माजिद अन्सारीले गुरुङमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनका लागि गृहमन्त्रीबाट उनले तत्काल राजीनामा दिनुपर्ने बताए। जेन–जीहरूको मूल एजेन्डा नै कसैमाथि प्रश्न उठिसकेपछि उसले निष्पक्ष तवरबाट उत्तर दिनुपर्छ भन्ने रहेको उनको भनाइ छ।
‘गृहमन्त्री पनि जेन–जी आन्दोलनकारी भएकै कारणले गर्दा उहाँले मार्गप्रशस्त गर्नुपर्छ। उहाँले आफूमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ। प्रधानमन्त्रीले एउटा निष्पक्ष टोली बनाउनु पर्छ,’ माजिदले भने, ‘गृह प्रशासन नेपाल प्रहरी मातहतमा छ र अनुसन्धान नेपाल प्रहरीले नै गर्ने हो। त्यसैले उहाँ गृहमन्त्री हुँदाहुँदै अनुसन्धान हुने हो भने त्यहाँ स्वार्थको द्वन्द्व हुन्छ। त्यसैले उहाँले राजीनामा दिनुपर्छ।’
‘उहाँले अहिले राजीनामा दिनुपर्छ। १५–२० दिनमा अनुसन्धान सकिइसक्छ। त्यतिबेलासम्म प्रधानमन्त्रीले गृह आफैँसँग राखे हुन्छ,’ उनले थपे, ‘चोखिएर आएपछि गुरुङले पदभार सम्हाल्दा हुन्छ।’
छानबिन हुन दिँदा नै गुरुङका लागि फाइदा हुने उनको तर्क छ।
‘दोषी हो भने त कानुन बमोजिम सम्पत्ति शुद्धीकरणको मुद्दामा जानै पर्छ। हैन भने उहाँले त राम्रो पैसा कमाउनु भएको छ। उहाँ निर्दोष साबित भएर आइसकेपछि हामीलाई पनि कसरी त्यति पैसा कमाउन सकिन्छ भनेर सिकाइदिनुपर्छ, टेक्निक दिनुपर्छ,’ अन्सारी भन्छन्।
गृहमन्त्रीका व्यक्तिगत कुराले जनताको नेताप्रति र एउटा पुस्ताप्रतिको विश्वासलाई कमजोर बनाउन दिन नहुने जेन–जी अगुवा तनुजा पाण्डेको भनाइ छ।
‘मान्छेहरूले त उहाँलाई मात्र प्रश्न गरिराखेका छैनन् नि, आन्दोलनलाई नै प्रश्न गरिरहेका छन्। उहाँले अलिकति व्यक्तिभन्दा माथि उठेर आन्दोलनलाई सोचेर जवाफ दिनुपर्छ,’ उनी भन्छिन्, ‘आफूमाथि लागेको आरोपमा पदमा बसेर नै छानबिन गर्नु भनेको दूधको साक्षी बिरालो बस्नु जस्तै हो।’
जेन–जी आन्दोलनमा गएका अधिकांश आन्दोलनकारी आजसम्म सामान्य जीवनमा फर्किन नसकेको, काम नपाइरहेको, अस्पतालको बेडमा रहेको अवस्थामा आन्दोलनको राप सेलाउन नपाउँदै गृहमन्त्री सुधन गुरुङले त्यति ठूलो रकमको कारोबार गर्नु शंकास्पद रहेको उनको भनाइ छ।
‘आन्दोलनले यत्रो नैतिकता र प्रवृत्तिको कुरा निकाल्यो अनि उहाँहरूचाहिँ आफैँ पोखराको अतिक्रमणको जग्गा भाडामा लिने, हाम्रो कानुनले नदिने मापदण्डको २०० रोपनी जग्गा होल्ड गर्नु, भ्रष्ट भनेका व्यक्तिसँग आर्थिक कारोबार देखिनु, सम्पत्ति विवरण सार्वजनिक गर्दा सम्पूर्ण सेयरहरू पनि सार्वजनिक नगर्नुले उहाँको नियत राम्रो देखिएन,’ तनुजाले भनिन्, ‘कुनै पनि व्यक्ति नैतिक रूपमा राम्रो छ कि छैन भन्ने कुरा उसको आर्थिक कारोबारले देखाउँछ।’
एक महिनामा चार पटक सम्पत्तिको काण्डमा फस्नु राम्रो सुरुवात नभएको तनुजाले बताइन्।
‘गृहमन्त्री सुधन गुरुङमाथि नैतिक प्रश्न उठेको छ र त्यो नैतिकताको जवाफ उहाँले आफ्नो न्यायाधीश आफैँ बनेर दिन मिल्दैन,’ उनले भनिन्, ‘यदि आफू सही हुनुहुन्छ भने प्रमाण देखाउनुपर्छ। फेसबुकमा स्ट्याटस लेखेर भिडलाई म्यानुपुलेट गरेर आफैँलाई सफाइ दिने काम गर्न मिल्दैन। यदि फेसबुकबाट सफाइ दिने हो भने हिजोको दिनमा हामीले भ्रष्ट भनेका व्यक्तिहरू पनि ठिक हुन सक्छन्।’
रक्षा बम पनि अनुसन्धानलाई सघाउन आवश्यक पर्ने सबै कदम गुरुङले चाल्नुपर्ने बताउँछिन्।
‘अनुसन्धानलाई सघाउनको निम्ति के प्रक्रिया अपनाउनुपर्छ त्यो गर्नु पर्छ। यदि त्यसका लागि राजीनामा दिनुपर्छ भने त्यो पनि दिनुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूको विधान के छ, पार्टीले के बोलेको छ, ती कुराहरू पूरा गर्न प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ। उहाँले फेसबुकमा स्पष्टीकरण दिएर भएन। त्यो अब अनुसन्धान गर्ने निकायलाई दिनुपर्छ। फेसबुकमा त हामी को हौँ ?रु’
अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले भने स्पष्टीकरण नसुनी राजीनामा माग्न नमिल्ने तर्क गरे।
‘निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट निकाल्दा उनको स्पष्टीकरण पनि सुन्न चाहेका थियौँ,’ उनले भने।

