वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
बेलायतमा एक नेपाली विद्यार्थीको निधन
Prabhu Bank AD

 

लन्डन । बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सप्तरीको हनुमाननगर, कंकालिनी १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका थिए । उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो व्यथा सुनाएका थिए । गरिमाले तुरुन्त अस्पताल जान सुझाएपछि सन्डरल्याण्ड रोयल अस्पताल गएका मण्डललाई आइटियूमा राखेर उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषणा गरेको एनआरएनए यूके अध्यक्ष पुडासैनीले बताए । पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया शुरु गरिने बताए ।

एनआरएनए यूके अध्यक्ष पुडासैनीले विद्यार्थीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र केही समस्या भए तुरुन्त अस्पताल जान सुझाएका छन् । ‘यहाँ आएका विद्यार्थी भाइबहिनीहरु अस्पताल जान पनि हिच्किचाउँछन्, जिपीमा नाम दर्ता गर्न संकोच मान्छन् अनि स्वास्थ्य समस्याले जटिल रुप लिन्छ’, पुडासैनीले भने, ‘नेपाली समुदायले पनि अब जनचेतना जगाउनु पर्ने बेला आइसकेको छ ।’

उनले बेलायतको अवस्था निकै जटिल भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अण्डर ग्रयाजुएट पढ्न नआउन पनि जोड दिए । ‘बेलायत हेर्दा राम्रो छ, फोटो खिच्दा राम्रो देखिन्छ, तर जीवन निर्वाह गर्न निकै कठिन छ’, उनले भने, ‘बेलायतमै सेटल्ड परिवारलाई त जिन्दगी सोचेजस्तो छैन भने भर्खर आएका विद्यार्थीलाई त झन् अकल्पनीय दुःख छ ।’

नयाँ परिवेश, अपेक्षा बढी तर वास्तविकता फरक, जागिर अभाव, विश्वविद्यालयका लागि बेहोर्नुपर्ने आर्थिक भार आदि कारण कयौं विद्यार्थी मानसिक समस्याबाट पीडित बनेका पाइएको छ भने कतिपयले आत्महत्या समेत गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर