काठमाडौं । मदुरोलाई पक्राउ गर्ने अपरेसनलाई ‘अपरेसन एब्सोल्युट रिजल्भ’ नाम दिइएको थियो। यो अपरेसन शनिबार बिहान भए पनि त्यसको तयारी भने महिनौं अघिदेखि गरिएको थियो।
गत अगस्टमा गुप्तचर संस्था सिआइएका अधिकारीहरूको एक टोली कराकस छिरेर मदुरोको गतिविधिबारे सूचना संकलन गरेको थियो। उनीहरू कुटनीतिक आवरणविनै कराकसमा महिनौं लुकेर मदुरोको गतिविधिको निगरानी राखेका थिए। उनीहरूले मदुरो कहाँ जान्छन् भन्नेदेखि के खान्छन् र उनको घरमा कुन घरपालुवा जनावर छ भन्नेसम्मका विवरण संकलन गरेका थिए।
मदुरोको निवास आसपास ुस्टिल्थ ड्रोनुसमेत उडाइएको थियो। यसले पनि मदुरोको गतिविधि, दिनचर्या र उनको सुरक्षाबारे सुक्ष्म रूपले निगरानी गरिएको थियो।
यो ड्रोन सामान्य आँखाले, रडारले र सामान्य सेन्सरले सजिलै पहिचान गर्न नसकिने गरी बनाइएको हुन्छ भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ।
त्यसले मदुरो घरको कुन कोठामा बस्छन् भनेर निगरानी गरिएको थियो।
सेनाप्रमुख ड्यान केनले यो अपरेसनलाई सन् २०११ मा पाकिस्तानमा ओसामा बन लादेन मारिएको कारबाहीपछिकै सबैभन्दा जोखिमपूर्ण अपरेसन भनेका छन्।
मदुरोको घरमा छापा मार्नुअघि अमेरिकी विशेष सेना डेल्टा फोर्सले केन्टकीमा मदुरोको आवासको पूर्ण आकारको नमुना बनाएर अभ्यास समेत गरेका थिए। त्यसपछि मौसम अनुकूल हुने र सर्वसाधारणको क्षति न्यून हुने समय कुर्दै सेनाले दिनौँ तयारी गरेको थियो।
सम्पूर्ण तयारी पूरा भएपछि शुक्रबार राति १०स्४६ बजे ट्रम्पले अपरेसनका लागि अनुमति दिएका थिए। त्यसपछि १५० भन्दा बढी लडाकू विमान परिचालन गरिएको भनेर जनरल ड्यान केनले बताएका छन्।
अपरेशन अघि विशेष विमान, इलेक्ट्रोनिक युद्धका जहाज, रिइपर ड्रोन, खोज तथा उद्धार हेलिकप्टर र लडाकु विमानहरू क्षेत्रमा तैनाथ गरिएको थियो।
साइबर अपरेशनमार्फत कराकसमा विद्युत् आपूर्ति काटिएको थियो। यसले लडाकू विमान र ड्रोनलाई नदेखिने गरी प्रवेश गर्न सहयोग पुर्याएको अमेरिकाको दाबी छ।
शनिबार बिहान क्याराकास वरिपरि ठूलो विस्फोट सुनिएका थिए। त्यतिबेला अमेरिकी लडाकु विमानले रडार र हवाई सुरक्षा प्रणालीलाई लक्ष्य बनाएको जनरल ड्यान केनले बताएका छन्।
भेनेजुएलाका एक वरिष्ठ अधिकारीले अमेरिकी हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको बताएका छन्।
हवाई प्रतिरक्षा प्रणालीले एउटा अमेरिकी लडाकू विमानमा क्षति पुर्याएको छ। यद्यपि त्यो चल्ने अवस्थामा रहेको पनि जनरल केनले बताएका छन्। रडार र हवाई सुरक्षा प्रणालीलाई ध्वस्त पारेपछि अमेरिकी लडाकू विमान सजिलै कराकस प्रवेश गरेका थिए।
अमेरिकी डेल्टा फोर्स बिहान २ बजेर १ मिनेट जाँदा मदुरोको आवासको कम्पाउन्डमा ओर्लिएको थियो। त्यहाँ छिरेको केही मिनेटमै डेल्टा फोर्सले मदुरो र उनकी श्रीमती फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए।
डेल्टा फोर्सका कमान्डोले विस्फोटक वस्तु प्रयोग गरी मदुरोको निवासको ढोका फुटाएका थिए। त्यहाँबाट तीन मिनेटमै मदुरो र उनकी श्रीमती भएको कोठामा पुगेका थिए।
सेना पुगेपछि मदुरो र उनकी श्रीमती निवासभित्रै बनाइएको सुरक्षित स्थानतर्फ भाग्ने प्रयत्न गरेका थिए। निवासभित्र अत्यधिक बलियो स्टिल ढोका बनाइएको सुरक्षित कोठातर्फ भाग्न लाग्दा सेनाले उनीहरूलाई रोकेको थियो। त्यसपछि आत्मसमर्पण गरेपछि दुवैलाई हेलिकप्टरमा राखेर युएसएस इभो जिमा नाम गरिएको युद्धपोतमा ल्याइएको थियो। उक्त स्थान भेनेजुएलाको तटदेखि करिब १०० माइल टाढा रहेको भनिएको छ।
डेल्टा फोर्सले अवतरण भएको पाँच मिनेटमै मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर त्यहाँबाट फर्किएको थियो।
युद्धपोतमा राखेर उनीहरूलाई ग्वान्टानमो बे हुँदै न्युयोर्क नजिकैको सैन्य हवाई अड्डामा ल्याइएको थियो।
न्युयोर्कमा मदुरो पतिपत्नी विरूद्ध लागुऔषध र हतियार ओसारपसारको मुद्दा चलाइने अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति मदुरो र उनकी पत्नीमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा संघीय मुद्दा दायर गरिएको छ। मदुरोमाथि सन् २०२० मार्चमा लागुऔषध तस्करी र आतंकवाद सम्बन्धी अभियोग लगाइएको छ।
ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी पक्राउ परेपछि भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने घोषणा गरेका छन्।
ट्रम्पका अनुसार, सुरक्षित रूपले सत्ता हस्तान्तरण नहुन्जेल भेनेजुएला अमेरिकाको नियन्त्रणमा रहनेछ।

