काठमाडौं । नेपालमा औसत मासिक १ लाखका दरले पर्यटक आगमन हुन थालेको पर्यटनबोर्ड स्रोतले जानकारी दिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म ५ लाख १ हजार २६४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस अनुसार मासिक १ लाख २५२ जना पर्यटक नेपाल आइरहेको तथ्यांक छ ।

नेपालमा पर्वतारोहणको मुख्य सिजन मानिने मे महिनामा पर्यटक आगमन घटेको छ । मे २०२५ मा ८६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०२४ को यसै महिनाको तुलनामा ९५.६ प्रतिशत मात्र हो । अघिल्लो वर्ष ९० हजार २ सय ११ जना पर्यटक मे महिनामा आएका थिए । यसरी गिरावट आउनुमा भारतीय पर्यटक आगमन घट्नु मुख्य कारण रहेको छ ।
मे २०२५ मा भारतीय पर्यटक २८ हजार १६० जना आएका छन् । अघिल्लो वर्ष यसै महिनामा भारतीय पर्यटकको संख्या ३८ हजार २८८ रहेको थियो । यस महिनामा चीनबाट ८ हजार ८२४ पर्यटक आएका छन् । अघिल्लो वर्ष यो संख्या ८ हजार ३८१ रहेको थियो । अमेरिकाबाट ९ हजार ७४ जना पर्यटक आएको तथ्यांक छ । अघिल्लो वर्ष अमेरिकाबाट ८ हजार ५२७ पर्यटक आएको तथ्यांक बोर्डको छ ।
भारतीय पर्यटकको संख्या कम हुँदा सार्क मुलुकको आगमन यस महिनामा २१.६ प्रतिशतले घटेको छ । सार्क मुलुकबाट कुल ३४ हजार ३५० पर्यटक आएका छन् ।
अन्य एसियाली मुलुकबाट हुने आगमन ११ प्रतिशतले बढेको छ । युरोपको १३।६, ओसियाना मुलुकको १८.७ प्रतिशत, अमेरिकी मुलुकबाट ७.८ प्रतिशत, मध्यपूर्वी मुलुकबाट ३२.५ प्रतिशत आगमन सुधार भएको छ । अफ्रिकी मुलुकबाट हुने आगमन भने १२.५ प्रतिशतले खस्किएको तथ्यांक छ ।
सन् २०२५ मा कुन महिनामा कति भित्रिए पर्यटक
जनवरी : ७९ हजार ९९१
फेब्रुअरी : ९६ हजार ८८०
मार्च : १ लाख २१ हजार ६८७
अप्रिल : १ लाख १६ हजार ४९०
मे : ८६ हजार २१६

