वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
भग्नावषेशमा आफ्नो घर खोज्दै छन् गाजाका गाजाबासी जनता
Prabhu Bank AD

एजेन्सी

इजरायल–प्यालेस्टाइनबिच युद्धविराम भएपछि, गाजामा युद्धका क्रममा विस्थापित भएका हजारौँ सर्वसाधारण बिस्तारै आ–आफ्नो घर फर्किँदै छन् । अधिकांश सर्वसाधारणको घर भग्नावशेषमा परिणत भई सकेको छ । बाँकी छ त केवल घर भएको आभास ।

माजीदा अबु जरादले युद्धविराम अघि नै घर फर्किने सुर गरिसकेकी थिइन् । उनको घर गाजाको बेत हनूनमा छ । युद्ध सुरु भएसँगै ज्यान जोगाउनका लागि उनी आफ्नो परिवारसँगै मुवासीमा रहेको अस्थायी शरणार्थी क्याम्पमा आइन् । यसबिच ज्यान जोगाउनका लागि माजीदाले सात पटक आफ्नो परिवारसँगै एउटा शरणार्थी क्याम्पदेखि अर्को शरणार्थी क्याम्पसम्म भाग्दै हिँड्नु पर्‍यो । अब उनी आफ्नो घर फर्किँदै छिन् । उनलाई थाहा छैन घरमा के बाँकी छ, तर जे छ, त्यही नै उनको घर हो ।

७ अक्टोबर २०२३ मा हमास र इजरायलबिच सुरु भएको युद्धमा गाजाका १९ लाख मानिस विस्थापनमा परेका थिए । अधिकांश विस्थापित सर्वसाधारणहरू राहत शिविरमा र अस्थायी शरणार्थी शिविरमा बस्नु परेको थियो । युद्धविरामसँगै ती सर्वसाधारणहरू क्याम्पदेखि आफ्नो घरतर्फ फर्की रहेका छन् ।

युद्धविरामपछि सार्वजनिक भई रहेका तस्बिरहरूमा गाजाका विभिन्न ठाउँका मानिस आ–आफ्नो थातथलो फर्किरहेको देखिन्छ । तर, त्यो थातथलो जसलाई उनीहरूले घर भन्थे पूर्ण रूपमा भग्नावशेषमा परिणत भई सकेको छ । तर, पनि मानिसहरू आफ्नो घर फर्कन पाएकोमा हर्षित छन् । कसैले खच्चडमा आफ्नो सामान लैजाँदै छन् त कसैले आफ्नो समान आफै बोकेर जाँदै छन् ।

मोहम्मद महदीको अल–जायतूनमा तीन तले पक्की घर थियो । युद्ध सुरु भएसँगै उनी पनि आफ्नो परिवारसँगै शरणार्थी क्याम्पमा जीवन बिताई रहेका थिए । महदी भन्छन् मानिस भग्नावशेषमा आफ्ना मान्छे खोज्न फर्किएका छन् । इजरायली बारुदको अघिल्तिर भग्नावशेष हुन अभिसप्त सहरको मध्य बाटो हुँदै उनी आफ्नो घर फर्किएका छन् ।

१५ महिनाको अन्तरालपछि शरणार्थी क्याम्पमा रही रहेका सर्वसाधारणको अनुहारमा घर फर्कने खुसी स्पष्ट देखिन्थ्यो । सर्वसाधारण आफ्नो घर र सडकमा थुप्रिएको भग्नावशेष पन्छ्याई रहेका छन् । ठ्याक्कै त्यही ठाउँ, जहाँ पहिले उनको घर थियो । फेरी त्यहीँ आफ्नो घर बनाऊ सकिन्छ कि भन्ने आश अझै मरेको छैन ।

घरसम्म फर्किने बाटोमा भग्नावशेष मात्रै छैन, लासहरू पनि पन्छ्याउँदै हिँड्नु परेको छ । ४८ वर्षकी उम सबर भन्छिन् आउँदै गर्दा बाटोमा कयौँ लास देखेँ । त्यसमध्ये कयौँ त हप्तौँदेखि त्यही थिएँ । बेत लाहियामा रहेको उनको घर पनि भग्नावशेषमा परिणत भई सकेको छ । त्यहाँ आउना साथ उनको परिवार भग्नावशेष सफा गर्न लाग्यो । भग्नावशेषमा आफन्तको लास पो छ कि ?

राफा निवासी मोहम्मद अबु ताहा भन्छन्, घर फर्किदा त्यहाँको अवस्था डरलाग्दो हलिउडको कुनै फिल्मी सिन जस्तो थियो । उनले आफ्नो घर वरपर भग्नावशेष, सडकमा तबाही, लास र शरीरका विभिन्न अंग तथा खोपडी सिवाय केही नदेखेको बताए । तर, अबु आफ्नो घर कसरी भत्कियो जान्न चाहन्छन् ।
गाजाका ती मानिस जो आ–आफ्नो घर फर्किसकेका छन् वा जो बाटोमा छन्, उनीहरूलाई थाहा छैन युद्धविराम कहिलेसम्म जारी रहन्छ । उनीहरूलाई कहाँ बस्ने र आगामी जीवन कसरी धान्ने भन्ने पनि थाहा छैन । ओत लाग्नका लागि भए पनि भग्नावशेषकै वरपर सर्वसाधारणहरू आफ्नो टेन्ट लगाइरहेका छन् । एकअर्थमा भन्ने हो भने विस्थापित भएका सर्वसाधारण जो टेन्टमा बसी रहेका थिए, उनीहरू फेरी टेन्टमै जीवन धान्न आई पुगेका छन् । भिन्नता के हो भने मात्रै उनीहरू आफ्नो घर नजिकको टेन्टमा बस्न आई पुगेका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार इजरायलले गाजामाथि यसैगरी प्रतिबन्ध लगाई राख्ने हो भने गाजाका भग्नावशेषमा परिणत भएका घर बनाउन झण्डै ३५० वर्ष लाग्न सक्छ । संयुक्त राष्ट्र संघका अनुसार ६९ प्रतिशत भवनहरू पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् । यसमा दुई लाख ४५ हजार घर पनि समावेश छन् । यसका साथै सडकमा जति भग्नावशेष थुप्रिएको छ त्यसलाई हटाउनका लागि मात्रै १५ वर्षसम्म एक सय वटा ट्रकहरूले दैनिक काम गर्नुपर्ने हुन्छ ।

Prabhu Bank AD

सम्बन्धित खवर