काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५४.५४ अंकले बढेर २ हजार १ सय ७५.१७ बिन्दुमा उक्लिएको छ । यो पछिल्लो ६ महिनायताकै उच्च हो । यसअघि गत साउन ८ ९जुलाई २४, २०२३० मा नेप्से २ हजार २ सय बिन्दुमा थियो । त्यसयता ओरालो लागेको नेप्से गत मंसिरमा ५ मा १ हजार ८ सय २९ बिन्दुमा झरेको थियो । त्यसपछि भने नेप्सेमा सुधार देखिन थालेको सोही क्रममा मंगलबार नेप्से २ हजार १ सय ७५ बिन्दुमा पुगेको हो ।
खासगरी पछिल्ला दुई कारोबार दिन गत आइतबार र मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । गत आइतबार ३१.५२ र मंगलबार ५४.५४ गरी दुई दिनमा नेप्से ८६ अंकले बढिसकेको छ । त्यसो त गत मंसिर २४ मा एकै दिन नेप्से १११ अंकले बढेको थियो । तर त्यो वृद्धि दिगो रूपमा टिक्न सकेन । तर पछिल्ला दुई दिनको वृद्धि दिगो र परिपक्व देखिएको जानकार बताउँछन् । अहिले सेयर बजारलाई सबैतिरबाट अनुकूल वातावरण बन्दै गएको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले थोरै भए पनि खुकुलो नीतिगत व्यवस्था गरेको छ, वित्तीय प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर निरन्तर घट्दो छ, लगानीका अन्य क्षेत्रमा अपेक्षित रूपमा सुधार हुन सकेको छैन, धेरै बजार धेरै तल घटिसकेको छ । यी कारणले सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको उनीहरूको भनाइ छ ।
‘पछिल्ला दुई दिनको कारोबारले सेयर बजारमा सुधारको प्रस्ट संकेत देखिएको छ,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले भने, ‘पुस मसान्तका कारण स्वीकृत भएर पनि प्रवाह भइनसकेको धेरैको सेयर कर्जा अहिले बजारमा आएको छ ।’ यसले पनि आइतबार र मंगलबार बजारमा राम्रो सुधार देखिएको उनले बताए । ‘त्यसो त सेयर बजार प्रभावित हुने धेरै सूचक सकारात्मक छन्, तर पनि लगानीकर्ताको आत्मविश्वास बढिरहेको थिएन,’ उनले थपे, ‘पछिल्ला दिनमा लगानीकर्ताको आत्मविश्वासमा पनि सुधार आएको देखिएको छ ।’ पछिल्ला दिनमा परिपक्व कारोबार भइरहेकाले त्यो सुधारको संकेत हुन सक्ने उनको भनाइ छ ।
बैंकहरूले यही माघमा पनि ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पनि केही खुकुलो नीतिगत व्यवस्था गरेको छ । उल्लिखित कारणले बिस्तारै लगानीकर्तामा आत्मविश्वास बढ्न थालेकाले त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको जानकार बताउँछन् । मंगलबार कारोबारमा आएका मध्ये २१४ कम्पनीको सेयर मूल्य बढ्यो, ३१ वटाको घट्यो र बाँकी २ वटाको स्थिर छ । मंगलबार १ लाख ३३ हजार ६१ वटा कारोबारबाट २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढी हो । गत आइतबार सेयर बजारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबारको कारोबार पनि पछिल्लो दुई वर्षयताकै उच्च हो ।
नेप्से बढेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३४ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ । गत आइतबार कुल बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब रुपैयाँ थियो । मंगलबार कारोबारमा आएका मध्ये सबै उपसमूहमा सुधार आएको छ । यसअनुसार बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बिमा १.७८, उत्पादन २.४९, लघुवित्त ३.०२, निर्जीवन बिमा १.९२, अन्य २.६२ र व्यापार उपसमूहको परिसूचक २.१५ प्रतिशत बढेको नेप्सेको तथ्यांक छ ।
०७८ भदौ २ मा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ९३ हजार १ सय ९९० मा थियो । नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यति बेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर ०७८ भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो ।

