काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को वैठकबाट सरुवा भएको हो । लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो ।
मन्त्रालयका अनुसार प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो । अधिकांश सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ । वीरगञ्ज महानगरपालिकामा मातृका भट्टराई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।
एक महिनाअघि नै संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीहरुबीचको मतभेद र कर्मचारीहरुको स्वार्थका कारण सरुवाको सूचीलाई अन्तिम रुप दिन सरकारलाई सरकारलाई सकस परेको थियो ।
यसपटक संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताइएकाहरुलाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो ।

