काठमाडौँ । बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरे । सामाजिक सञ्जाल र केही मिडियाहरुमा निकै हल्लाखल्ला गरिएको र निकै चासोपूर्वक हेरिएको यी दुवै प्रदर्शनमा सहभागिता भने हल्ला गरिएभन्दा निकै कम भएको सुरक्षा स्रोतले जनाएको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरे भने युवा संघले तीनकुनेमा । यी दुवै प्रदर्शनमध्ये बल्खुको प्रदर्शन हिंसात्मक देखियो । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघरमा ‘निषेधाज्ञा’ जारी गरेको थियो ।
दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजारको हाराहारीमा प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएको छ भने तीनकुनेमा युवा संघले गरेको प्रदर्शनमा ७ हजारको सङ्ख्यामा सहभागिता रहेको सुरक्षा निकायको आँकलन रहेको छ ।
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता बिच एकपटक र प्रहरीसँग दुई पटक झडप भएको थियो । प्रदर्शन सुरु हुनुअघि नै बल्खु चोकमा प्रसाईं समर्थक समूह र युवा संघका कार्यकर्ता बिच झडप भएको हो । कीर्तिपुरबाट तीनकुनेतर्फ आउँदै गरेका युवा संघका कार्यकर्तालाई प्रसाईं समर्थक सन्तोष राजावादी सहितका युवाहरूले ढुंगा हानेपछि झडपको अवस्था आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
दुर्गा प्रसाईंले प्रदर्शन स्थलमा सम्बोधन गरेर हिँडेपछि आन्दोलनकारी र प्रहरी बिच दुईपटक झडप भएको थियो । सुरक्षा कर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू कालिमाटी तर्फ जान खोजेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रहरीको घेरा तोडेर प्रदर्शनकारी कालिमाटी तर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेर रोकेको थियो ।
त्यसपछि प्रदर्शनकारी बल्खु पुलबाट एकान्तकुनातर्फ, कीर्तिपुर त्रिवि गेटतर्फ र कलङ्कीतर्फ तितरबितर भए । तर, केही बेरमा फेरी कालीमाटी जाने मोडमा फेरी झडप सुरु भयो । तेस्रो पटकको झडपमा प्रहरीले पानीको फोहरा हानेर स्थिति नियन्त्रणमा लिएको थियो । स्थिति नियन्त्रणमा लिन १५७ सेल अश्रुग्याँस र १ राउन्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।
प्रसाईको कार्यक्रममा हिन्दी भाषामा समेत नारा लगाइएको थियो । प्रसाईको आन्दोलनमा भारतीय हिन्दु अतिवादीहरुको सहभागिता र उक्साहट रहेको पनि प्रहरी स्रोतले जनाएको छ । उनीहरुले लाखौं उतार्ने हल्ला गरे पनि हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आकर्षण नदेखिएको पनि राजनीतिक विश्लेषकहरुको भनाइ छ । केही विश्लेषकहरुले यो अहिलेको व्यवस्थाका विरुद्धमा जनताको स्थिति के कस्तो रहेको भनेर दिल्लीको ब्याकिङमा ट्रायल गर्न यो प्रदर्शन गरिएको पनि दावी गरेका छन् ।

