काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका छन् ।
मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनाली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ । त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् भने एकजना सम्पर्कविहीन छन् ।
यसैबीच, चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थी हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका छन् ।
विश्वविद्यालयबाट गएका सात कृषि फार्म मध्ये सोरासिम, साइड निटसन, रोगोलस्काइ कृषि फार्ममा गएका ३४ जना विद्यार्थी जोखिममा परेका कृषि तथा वन विश्वविद्यालयको योजना निर्देशनालयका निर्देशक शिवचन्द्र ढकालले जानकारी दिए । उनीहरुको गोपनीयताको कारण विश्वविद्यालयले विद्यार्थीको नाम भने सार्वजनिक गरेको छैन ।
निर्देशक ढकालका अनुसार विद्यार्थीहरु तीन समूहमा फरक फरक बंकरमा राखिएको छ । उनीहरुलाई उद्धार गर्ने टोली पनि त्यहाँ पुगेका छैनन् । उनीहरु नजिकै रहेका कोठाबाट पानी र ड्राइ फुड खाएर ज्यान धानिरहेका छन् । ढकालले हरेक समूहका एक एक जनासँग विश्वविद्यालय टीम सम्पर्कमा रहेका जानकारी दिए । उनीहरुले यथाशिघ्र उद्दारका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
गत भदौ १६ गते सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका अन्तिम वर्षका १ सय १९ जना विद्यार्थी इजरायल उँडेका हुन् । उनीहरु ११ महिनाको लागि इजरायल गएका थिए

