काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।
बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले लेखेका छन्, “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”
शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि आक्रोश पोखेका छन् ।
नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने,‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले बताएका छन् ।
‘ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ ।

