वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
एमसीसी परियोजनाको आजबाट हुँदैछ कार्यान्वयन, कार्यान्वयन हुन नदिन किरण र विप्लवसहित चार कम्युनिस्ट पार्टीले घोषणा गरे संघर्षका कार्यक्रम, प्रम प्रचण्ड भन्छन्– ‘हामी पनि सडकमा जान सक्छौं’
Prabhu Bank AD

 

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरु बुधबार (आज)बाट कार्यान्वयन सुरु भएको घोषणा हुँदैछ । अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने घोषणा कार्यक्रममा सहभागी हुन मंगलबार नै एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड मंगलबार नै काठमाडौं आइसकेका छन् ।

अर्थमन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले बनाउने प्रसारणलाइन र सडक निर्माण परियोजनाको ५ वर्षे दिनगन्ती भोलिदेखि सुरु हुनेछ । र, ५ वर्षभित्र काम नसकिए सम्झौताअनुसारको बाँकी अनुदान रोकिने छ ।

आयोजनाको कार्यान्वयन सुरु हुनुअघि प्रसारणलाइनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा, ‘आयोजना कार्यान्वयन सम्झौता’ नामक सहायक सम्झौतामा हस्ताक्षर, विद्युत नियमन आयोग गठन, प्रसारणलाइन जोड्नका लागि भारतसँग सहमति र ‘संसदबाट अनुमोदन’ जस्ता शर्तहरु पूरा भइसकेको छ ।

ठेकेदार तथा परामर्शदाता छनोट, जग्गा प्राप्ति, रुख कटान जस्ता पूर्व तयारीका काम भने बाँकी छ । त्यसैले भोलि परियोजना कार्यान्वयन घोषणा भएपनि काम सुरु भइहाल्ने स्थिति देखिएको छैन ।

किरण र विप्लवसहित चार कम्युनिस्ट पार्टीले एमसीसी कार्यान्वयन हुन नदिन घोषणा गरे संघर्षका कार्यक्रम

चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा माइतिघर मण्डलाबाट दिउसो तीन बजे संयुक्त विरोध प्रदर्शन गर्ने कार्यतालिका रहेको छ ।

साथै आन्दोलनका क्रममा गिरफ्तार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य टोगप्रसाद उपाध्याय लगायत अन्य नेता तथा कार्यकर्ताको तत्काल रिहाईको पनि विज्ञप्तीमार्फत माग गरिएको छ ।

 

‘व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अंग नमाने हामी सडकमा जान्छौं’ – प्रम प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । बुटवलमा मंगलबार आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभालाई सम्बोधन गर्दै उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको बताए ।

उनले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ । तर, लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपील गर्न चाहन्छु ।’

प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी एमसीसीकै अंग बनाएर आफूहरुले सदनबाट पारित गरेको बताए । उनले भने, “१२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए हामी एमसीसीविरुद्ध सडकमा जान्छौं ।”
आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको उनले बताए । धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको प्रचण्डको भनाइ छ ।

अहिले मोर्चा घोषणाले मात्र नपुग्ने भन्दै प्रचण्डले बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरुले सडकमा लाखौं जनताको नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर